दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको काममा नगरपालिकालाई प्रंशसापत्र

दमक,१५ भदौं । पूर्वाधार विकास आयोजनाले दमक नगरपालिकालाई दमकमा निर्माणाधिन एउटा आयोजनाको कामको भौतिक प्रगतिमा उच्च भएको मूल्याङकन गर्दे प्रशंसा पत्र प्रदान गरेको छ ।
विश्व बैंकको ऋण सहयोग तथा नेपाल शहरी विकास पूर्वाधार आयोजनाको समन्वयमा देशभरकै १७ वटा पालिकामध्ये दमक नगरपालिका अन्तर्गत हाल सञ्चालनमा रहेको मदनडाँगी – ताराबारी – डिपु सडक स्तरोन्नति आयोजनाको भौतिक प्रगति सबैभन्दा उच्च भएको मूल्यांङकन गर्दै दमक नगरपालिकालाई प्रशंसा तथा सम्मान गरेको हो ।
विहिबार काठमाडौंमा आयोजित समीक्षा गोष्ठीमा दमक नगरपालिका प्रमुख रामकुमार थापालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो ।
कार्यक्रममा विश्व बैंकका प्रतिनिधि तथा अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा नेपाल सरकार, शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले नगरप्रमुख थापालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा वक्ताहरुले दमक नगरपालिका अन्तर्गत सञ्चालित उक्त आयोजना व्यवस्थित एवम् प्रशंसायोग्य रहेको, गुणस्तरीय कार्य भएको तथा आयोजनाले पूरा गर्नुपर्ने वातावरणीय प्रभाव सम्बन्धी कार्यहरु प्रभावकारी रुपमा सम्पादन गरिरहेको बताएका छन् । आयोजना अन्तर्गत दमक १ र ५ वडा हुँदै दमक ४ को ताराबारी डिपुसम्मको निर्माणाधिन अवस्थामा छ ।
नगरप्रमुख थापाले विश्व बैंकको सहयोगमा बन्दै गरेको मदनडाँगी – ताराबारी – डिपु सडक स्तरोन्नतिको कामको उच्च मूल्याङकन भएको बताए । यातायातका ठूला साधन, साइकल र पैदलयात्री हिड्ने अलग अलग लेन रहेको सडकको निर्माण कार्यले तीव्रता लिएको बताउदै उनले अहिले सडक ग्रेडिङको काम र ढल निर्माणसँगै कल्बर्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अहिले सम्मको काममा दमक नगर परियोजनामध्ये उत्कृष्ठ भएको बताए । देशभरकै १७ वटा पालिकामध्ये दमक नगरपालिकामा पनि विश्वबैकको योजनामा सो सडक परेको भन्दै सो सडक दमककै उदाहरणीय र नमूना बन्ने कुरामा आफू विश्वस्त रहेको उनको भनाई छ ।
सो सडक निर्माणमा करिब ५० करोड लगानीमा सञ्चालन भइरहेको उक्त आयोजनाको हालसम्मको कार्यप्रगति ५३ प्रतिशत हाराहारीमा काम सकिएको र अब पीएस (विद्युतीय, तारवार र ढलान) तर्फको काम अघि बढ्ने दमक नगरपालिकाका इन्जिनियर अनन्तप्रसाद सेनेहाङले जानकारी दिए ।
यसैविच नगरपालिकाले एक सूचना जारी गर्दै उक्त आयोजनालाई सफल बनाउँन सहयोग पुर्याउने सस्था र सहयोगी महानुभाव प्रति कृतज्ञता ब्यक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.