कमल,१० असार । झापाको कमल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८० ०८१ का लागि झण्डै ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । आइतबार बसेको गाउँ सभा बैठकमा ७१ करोड ८३ लाख ८४ हजार रुपैयाको अनुमानित आम्दानी खर्चको विवरणसहितको बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए भने उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले नीति कार्यक्रममा आधारित बजेट प्रस्तुत गरेकी हुन् ।
“समृद्ध कमल हाम्रो सरोकार” भन्ने मुल नारासहित कमल गाउँपालिकालाई सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने प्रतिबद्धतासहित सभामा अध्यक्ष राईले वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए ।
गाउँपालिकाको विकास र समृद्धिको लागि राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दै गुणस्तरीय तथा दिगो विकास सहितको पूर्वाधार निर्माण गर्न स्थानीय स्रोतको पहिचान र परिचालन गरी समावेशी तथा दिगो स्थानीय आर्थिक विकास मार्फत समृद्घ गाउँपालिकाको लक्ष्य हासिल गर्ने लक्ष्य राखिएको सभामा पेश भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी कमल गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा आर्थिक, सामाजिक, साँस्कृतिक र पूर्वाधारका विकासमा केन्द्र सरकार, प्रदेश सरकारबाट प्राप्त श्रोतहरु र आन्तरिक स्रोत तथा साधनहरु परिचालन गरी आर्थिक तथा सामाजिक विकासका कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्दै जनतालाई स्थानीय सरकार भएको अनुभुती दिलाउने खालका कार्यक्रम सञ्चालन गरिने समेत अध्यक्ष राईद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषि उत्पादनमा बृद्धि, कमलको समृद्धि
कृषि उत्पादनमा बृद्ध कमलको समृद्धि भन्ने लक्ष्य अनुसार कृषि उत्पादक फर्म मार्फत उत्पादनको पहिचान (ब्राण्डिङ)गरेर उत्पादन साथमा अनुदान हातमा भन्ने नीति लिइएको छ । गाउँपालिकाले सबै किसानलाई किसान सुचीकरणमा समावेश गर्ने नीति लिएको छ भने कृषि उपजलाई बजारीकरणका लागि समुह तथा सहकारीको साझेदारीमा कृषि उपज संकलन तथा बजारीकरणको व्यवस्था गरिने, कृषि सिचाइँको बिद्युत मिटरमा उठेको बिल अनुसार ५० प्रतिशत बिल भुक्तानीमा अनुदान दिने, वडा–वडाबाटै कृषि जैविक मल उत्पादन गरी किसानलाई उपलब्ध गराउने, कृषि चुनमा अनुदान, संघीय र प्रदेश सरकारसँगको साझेदारीमा कृषि यान्त्रिकीकरण तथा कृषिका अन्य पूर्वाधार बिकास गरी चाक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने नीति लिइएको अध्यक्ष राईद्धारा प्रस्तुत नीति कार्यक्रममा जनाइएको छ ।
भुमी बैंकको स्थापना गरी बेरोजगार र भुमिहीन युवालाई कृषि क्षेत्रमा लगाउन पहल गरिने, स्वस्थ जिवनका लागि कमलको ताजा तरकारी भन्ने नारासहित एक घर एक करेसाबारी कार्यक्रम अन्तर्गत तरकारीको मिनिकोट मार्फत प्रोत्साहन गर्ने, किसानको समस्या निदानका लागि एक दिन भित्रै आवश्यकता अनुसार कृषि प्राविधिकको पहुँच पुरयाउने, व्यवसायिक कृषिको बिकासका लागि किसानहरुमा क्षमता अभिबृद्धि, कृषि औजार उपकरण र प्रविधि हस्तान्तरण एवं प्रयोगलाई प्रोत्साहन गर्ने पनि पालिकाको नीति छ । आयुर्वेदिक महत्वका नीम, अमला, आँक, तुलसी, लसुन, अदुवा, बेसार, पुदिना आदि नगदेबाली लगाइ बजारीकरणमा समेत प्रोत्साहन गर्ने नीति लिइएको छ ।