पथरीमा साकेला सिली , लक्ष्मीमार्ग टोली प्रथम

पथरीशनिश्चरे, २२ जेठ । मोरङको पथरीशनिश्चरे १ स्थित साकेला थानमा सोमबार किरात राई समुदायको सांस्कृतिक चाड उभौली सोकला भब्य रुपले समापन भएको छ ।साकेला किराँत राई समुदायको प्रंमुख चाड हो । किराँत राई यायोक्खा पथरीशनिश्चरे नगर समितिको आयोजनामा विहान साकेला पुजा र दिउँसो साकेला नृत्य प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रमसहित समापन भएको हो ।
किराँत राई समुदाय पूर्खा (पितृ) र प्रकृति खुसी बनाए सुब्बे, फाब्बे हुने विश्वासका साथ विभिन्न ६ वटा साकेला सिली टोलीहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थिए।
उनीहरूले घरघरमा रहेको तीन चुलालाई पितृको रुपमा पुजा गरेपछि सामुहिक रुपमा साकेला थानमा भेला भएर प्रकृतिको पुजाको साथै नाचगान गर्दै रमाइलो गरेका थिए। यस पर्वमा पुजाको साथै आफन्तवीच भेटघाट, मिठो मसिनो खाने र रमाइलो गरेर साकेला मनाउने चलन छ ।
सोमबार पथरीमा आयोजित साकेला नृत्य प्रतियोगितामा बेलबारीको लक्ष्मीमार्ग टोली प्रथम भएको छ । त्यसैगरी, लेटाङको किर्तिमान दोस्रो, उर्लाबारी साकेला टोली तेस्रो र बेलबारीले सान्त्वना पुरस्कार जितेका छन् ।
बिजेता चारवटै टोलीलाई कार्यक्रमको प्रमुख अतिथि किराँत राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, बिशेष अतिथि उपमहासचिव अर्जुन जम्नेली राई, पथरीशनिश्चरे नगरको निवर्तमान प्रमुख दिलिपकुमार राई लगायतका अतिथिहरुको हातबाट नगद तथा ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा लेटाङ, सुन्दरहरैचा लगायतबाट सहभागी भएका थिए ।
यायोक्खा पथरीशनिश्चरे नगर समिति अध्यक्ष प्रेमकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, नगरको प्रमुख प्रशासकीय अधिकृत शशि राई, निवर्तमान नगर प्रमुख दिलिपकुमार राई, २ नं वडा अध्यक्ष नैना राई लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, पूर्व केन्द्रीय सदस्य नवीन राई, मोरङ जिल्ला अध्यक्ष केदार राई, सचिव काशिहाङ राई, पथरीशनिश्चरे १ नं वडा अध्यक्ष भिमकुमार राई, नेपाल आदिबासी जनजाति महासंघ नगर समिति उपाध्यक्ष राजेन्द्र गुरुङ, कोषाध्यक्ष मिना भुजेल, पूर्ब अध्यक्ष हेमभक्त तमु, सुनाखरी मावि सञ्चालक समिति अध्यक्ष प्रदिपकुमार राई लगायतको उपस्थिति रहेको थियो ।
साकेला नाच प्रदर्शन, गीतको साथै रोटे पिङ, कोलम्बस लगायतको खेलहरु खेलेर युवा युवतीहरु रमाइरहेका देखिन्थे । साकेला परिसर भित्र यलम्बर, सांस्कृतिक पहिचान बोकेको वाबु (चिन्डो)को प्रतिमा यस अघि नै निर्माण भएको छ ।
संघीय गणतन्त्रपछि पथरीशनिश्चरे नगरपालिकाले स्थानीय साकेला चाडको दिन सार्वजनिक विदा दिदै आएको छ । स्थानीय विदा दिन थालिएपछि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले पनि साकेला चाड खुलेर मनाउन पाएको किराँत राई यायोक्खा जिल्ला समिति मोरङका अध्यक्ष केदार राईले बताए ।

Leave a Reply

Your email address will not be published.