झापा, १५ मंसिर । सहकारी ठगी मुद्दामा पक्राउ परेका विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले मोरङ ल्याएको छ ।प्रहरीले जिल्ला अदालत मोरङमा रहेकोे सहकारी ठगी मुद्दाका प्रतिवदी रहेका शर्मालाई बिहीबार राति विराटनगर ल्याएर शुक्रबार अदालतमा उपस्थित गराएको छ । फरार भएका अध्यक्ष शर्मालाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको थियो ।
भक्तपुरमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको पनि पूर्वअध्यक्ष रहेका शर्माले सो सहकारीको १४ अर्ब भन्दा बढि बचत हिनामिना गरेको मुद्दा थियो । भक्तपुरमा केन्द्रीय कार्यालय भई ३५ जिल्लामा शाखा कार्यालय रहेको शिव शिखर सहकारीको काठमाडौं शाखाका बचतकर्ताले दिएको उजुरीको आधारमा काठमाडौं जिल्ला अदालतले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको छ ।
मोरङमा उपस्थित गराइएका शर्मालाई मोरङ जिल्ला अदालतले पनि पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । सहकारी संस्थाको रकम हिनामिना गरेको मुद्दामा फरार रहेका शर्मालाई शुक्रबार प्रहरी अदालतमा उपस्थित गराएपछि अदालतले थुनामा पठाएको जिल्ला अदालत मोरङका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
जिल्ला अदालत मोरङका न्यायाधीश राजेश्वर अर्यालको इजलाशले शर्मालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले थुनामा पठाउने आदेश दिएपनि कैलालीमा अर्को मुद्दा रहेकोले शर्मालाई कैलाली पठाउने तयारी गरेको प्रहरीले जनाएको छ । कैलालीसिछ उनलाई दाङ लैजाने तयारी छ । दाङमा पनि उनीविरुद्ध ठगीको मुद्दा छ ।
सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेको सहकारी गत फागुनदेखि बन्द छ । ठगी मुद्दामा गत चैतमा जिल्ला अदालत मोरङले सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । शर्माकी श्रीमति न्यौपानेले सहकारी संकटमा परेपछि सम्बन्ध विच्छेद गरेको पाइएको छ ।
शर्मामाथि १ अर्ब ४५ करोड ७५ लाख बढी रुपैयाँ ठगीको आरोप
झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय रहेको सहकारीमा २१ हजार १ सय ५४ जना बचतकर्ताले जम्मा गरेको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन गरेको शर्मामाथि आरोप छ ।
तुलसी सहकारीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखाले ६० करोड ७२ लाख ९३ हजार, गाइघाट शाखाले २३ करोड ६६ लाख ९६ हजार र गोलबजार शाखाले ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको थियो । सहकारी संस्थामा सर्बसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्मासहितले अनाधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए ।
सर्वसाधारणको १ अर्ब ४५ करोड ७५ लाख बचत संकलन गरेको सहकारीले ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ अध्यक्ष शर्माको ६ वटा कम्पनीलाई ऋण लगानी गरेको देखिएको छ । सहकारीको कुल पूँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँमध्ये १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीको १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब प्रहरीले अनुसन्धानका क्रममा भेटेको छैन ।