कांग्रेस दमकद्धारा कार्यकर्ता भेला,सबैले मागे महासमितिको मत

दमक,१९ कार्तिक । नेपाली कांग्रेस दमक नगर समितिले आज अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । तिहार, छठ पर्व लगायतको उपलक्ष्यमा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने पूर्व तयारी गरेपनि माथिल्लो तहबाट आएको पछिल्लो सर्कुलर अनुसार भुकम्पको प्रभावका कारण कार्यक्रमको स्वरुप परिवर्तन गर्दै सिमीत स्वरुपमा कार्यकर्ता भेला गरिएको थियो ।
कांग्रेसले यसअघि गर्ने गरेका कार्यक्रमहरु भन्दा फरक शैलीमा पार्टी कार्यालयमा आयोजना गरिएको सो कार्यक्रमको सभापतित्व नगर सभापति प्रकाश प्रसाइँले गरे भने पार्टीको उपल्लो तहका नेताहरुलाई दर्शक दिर्घामा राखिएको थियो । मञ्च तर्फ कार्यक्रम सभापति प्रसाइँ , संविधान सभा सदस्य समेत रहेका पार्टी नेता विश्वदिप लिङदेन र वडा सभापतिहरु रहेका थिए भने पार्टीका प्रदेश समिति सदस्यहरु, महाधिवेशन प्रतिनिधि, जिल्ला तहका पदाधिकारी, सदस्यहरु र क्षेत्रीय समितिका पदाधिकारी सदस्यहरु मञ्चबाट तल सहभागीहरुको दिर्घामा बसेका थिए । पार्टीका नगर उपसभापति युवराज खनाल ९सागर०ले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन नगर सचिव दिपेश दाहालले गरेका थिए ।कार्यक्रममा पश्चीम नेपालमा भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा मौनधारण गरिएको थियो ।भेलामा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
महासमितिका सबै उम्मेदवार
२२ र २३ कार्तिकमा झापामा हुने महासमिति सदस्यको निर्वाचनमा झापाको यो क्षेत्रबाट सबै नेताहरु उम्मेदवार रहेका छन् ।सो कार्यक्रममा महासमिति सदस्यको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुले आफनो उम्मेदवारी घोषणा गरेका थिए । पार्टीले उनीहरुलाई महासमिति सदस्य पदमा दिन चाहेको उम्मेदवारीको बिषयमा जानकारी गराउने मौका दिइएको थियो ।
कांग्रेस भित्र १४ औं महाधिवेशनका क्रममा हुनुपर्ने महासमिति सदस्यको निर्वाचन गत बर्ष स्थगित भएको थियो ।
पार्टीले यही मसिंरमा महासमिति बैठक बोलाएका कारण त्यसअघिनै महासमिति सदस्य चुन्नैपर्ने बाध्यताका कारण अहिले झापामा कांग्रेस भित्र महासमिति सदस्यको निर्वाचनको माहौल शुरु भइसकेको छ । आजनै गौरीगञ्जमा पनि सोही प्रकृतिको कार्यकर्ता भेला सम्पन्न भएको छ । पार्टीका गाउँ नगर समिति र कतिपय वडा समितिहरुले पनि निर्वाचन लक्षित भेटघाटका कार्यक्रमहरु राखिरहेका कांग्रेस झापा क्षेत्र नं ५ का सचिव धर्मानन्द भट्टराईले बताए ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीका अनुसार यसक्षेत्रबाट चुनिने महासमिति सदस्यहरुको निर्वाचन सके सम्म सर्वसम्मत बनाउने प्रयास स्वरुप सोमबार भोलि बिहान ८ बजे पार्टी कार्यालयमा आकांक्षी नेताहरु, पार्टीका विभिन्न तहका सभापतिहरु र निर्वाचन समितिको बैठक बोलाइएको छ । बैठकले उम्मेदवारहरुवीच ११ पदमा नै अधिकतम सहमति गर्ने प्रयास गर्ने बुझिएको छ । सहमति हुने संभावना खासै देखिएको छैन् । ७ सय बढी क्षेत्रीय प्रतिनिधि रहेको यस क्षेत्रबाट ११ महासमिति मध्ये खुल्ला तर्फ ५, खुला महिलातर्फ २ , आदिवासीजनजातितर्फ एक महिलासहित २, खस आर्यमहिलासहित २ जना निर्वाचित हुने छन् । यस क्षेत्रको निर्वाचन सम्पन्न गर्न बबु्र दाहालको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । महासमितिको निर्वाचन दमकमा गर्ने तयारी भईरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published.