-सुन्दर कुरुप
वि.स. २००० को आसपास नै पहाडीया समुदाय मधेस झर्न थालेको भएता पनि झोडा बस्ती र झोडाको व्यापक फडानी भने वि.स. को २०२१ पछि भएको देखिन्छ । लिम्बूहरूको राजनैतिक अधिकार र राजनैतिक स्वामित्वसंग गाँसिएको किपट उन्मुलनको आक्रोस मेटाउन पनि दरवारको प्रपञ्च थियो झोडा व्यवस्थापन । एकातिर राजनैतिक अधिकार स्वामित्वको किपट खोस्न ’किपट उन्मुलन ऐन –२०२१’ ल्यायो भने लिम्बूहरुलाई थमथम्याउन र अझ राष्ट्रवादी बनाउन झोडा ब्यवस्थापनको नीति ल्याएको देखिन्छ ।
उ बेला तराईका फाँट वनजंगलले ढाकेको थियो । वस्ती बसाउन सहज थिएन् । बडेमानको रुखहरु काटन पाईन्न थियो । अन्न र कृषिको समस्या थियो। बनपालेले दुख दिन्थ्यो। राज्यले झोडा अधिकार भनेपनि राजनैतिक संयन्त्रसंग मेल नखानाले झोडा आवाद गर्नेले दुःख पाए । दिउँसै डाका लाग्ने, अझ चिठी काडेरै डाका डाल्ने काम हुन्थ्यो, पाकेको अन्नहरु खेतबाटै उठाईन्थे। वि.स. २०२८ सालमा झोडाबासीलाई हटाउने नाममा मोरङको रमाइलो गाउँमा सेनाले झोडावासीलाई गोलि समेत दागेका थिए । त्यसैले वि.स. को २०२६ देखि २०३३ सालसम्म झोडाको संक्रमणकालीन समयको रुपमा लिन सकिन्छ ।
तराईका ठुलठुला रुखहरु काटेर भारतलाई बेचियो। जान्नेबुझ्ने कहन्छन्; पञ्च पक्षले ०३६ सालको जनमत संग्रहको खर्चको लागि धेरै रुखहरु पारि बेचे। झोडावासीको दशकभन्दा बडी समय अन्योलतामा बित्यो। झुप्रा बनाउन पनि बनपालेले दुख दिन्थ्यो । अन्तत; ०३४ सालमा झोडाबासीलाई धनिपुर्जा बितरण गरियो, जो बडो दुखलाग्दो देखिन्छ ।
झोडा संघर्ष यति लामो र यति घातक हुन्छ भनेर सोचेकै थिएनन् भूपूहरुले । सुरुमा ४ बिघाको दरले पाइन्छ भनेर त्यति नै चासभोग गरे। पछि डेढ बिघामा खुम्च्याईयो। भूपू सैनिकको नाममा जग्गा बितरण भएन, एक बिघा दस कठ्ठा जग्गा स्वामित्वका लागि आदिवासी भूपूहरु सुकुम्बासी हुनुपर्यो । सुकुम्बासीको नाममा उनिहरुलाई जग्गा धनिपूर्जा बितरण गरियो।
कथा कथान्तर जे जस्तो रहेता पनि भूमि संघर्ष आज पर्यन्तको हो। यहाँका आदिम जातिमाथि पछि बस्ती बसाउन आउने अन्य समुदाय उत्पीडक भएकै हुन् । आदिम रैथानेहरुको गौचरन साँघुरियो । खेल्ने रनबन साँघुरियो। उब्जाउ भूमीमाथि तिनले कब्जा गरे ।
नाटकमा केही नयाँ प्रयोग रहनेछ । साँस्कृतिक अन्तरघुलनमा रैथाने संस्कृति पर्दापण हुने नै छ । यो रसस्वादन र भुमि स्वामित्वमा गोचर राजनैतिक बिषयलाई नजिकबाट नियालौ ।
दमकको किरात भवनमा भोलि शुक्रवार असोज २६ देखि ३० सम्म नाटक “झोडा“ मञ्चन हुदै छ । एकपटक अवश्य हेर्नु होला । चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको यस नाटकको परिकल्पनाकार तथा निर्देशन रंगकर्मी चेतन आङथुपोको छ । ‘आकास गंगाको ओतमुनी ’उपन्यासमा आधारित नाटकको निर्माता शुरेस माङपाहाङ्ग राई, नाट्य रुपान्तरण सुमन लिङदेन र व्यवस्थापन सुर्य लिम्बू रहेको नाट्य प्रस्तुतिमा सहकार्य गरिआएको संस्था रुवाई मञ्च नेपालले जनाएको छ ।