प्रिन्सिपललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

झापा, २२ साउन । झापा जिल्ला अदालतले धुलाबारीको सानो साथी किन्डर गार्टेन स्कूलका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।गत असार २५ गते स्कुलको सेप्टिक ट्यांकीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बूको मृत्यु भएको घटनामा अदालतले उक्त आदेश दिएको हो । मृतकका बुवा खर्कबहादुर सुब्बाले तान्छोपको मृत्यु शंकास्पद रहेको जाहेरी दिएपछि प्रहरीले स्कुलका सञ्चालक समेत रहेका मेचीनगर–११ निवासी ४५ वर्षीय गुरुङ सहित तीन जनालाई पक्राउ गरेर झापा जिल्ला अदालतमा मुद्धा चलाएको थियो ।
आइतवार उक्त मुद्धाको थुनछेक बहसपछि अदालतले प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको हो भने अरु दुई जना आरोपितलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
उक्त घटनाका आरोपितको रुपमा स्कुलकी व्यवस्थापक एवम् शिक्षिका मेचीनगर–१० की २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ की ३५ वर्षीया रमा सुनार रहेका थिए । अदालतले पोखरेललाई रु दुई लाख र सुनारलाई रु५० हजार धरौटीमा रिहा गरेको हो ।
आरोपितमध्ये स्कुलकै सञ्चालक काठमाडौं–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली फरार छन् ।थुनछेकको बहसमा बादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले वहस गरेका थिए भने प्रतिबादीका तर्फबाट अधिवक्ता अशोक पोखरेलले वहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published.