दमक ,२ जेठ । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी ) ले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरि दोषी माथि कडा सजाय दिन आग्रह गरेको छ ।
समितिका कार्यवाहक अध्यक्ष तिलक राईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै वर्षौदेखि झापा र मोरङको भुटानी शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका हामी शरणार्थीलाई यस घटनाले गम्भीर असर पु¥याएको भन्दै यसको निष्पक्ष छानविनको माग गरेका हुन् । विज्ञप्तिमा यस्तो कार्यले गैरभुटानीलाई भुटानी र सक्कली भुटानीलाई गैरभुटानी बनाउन सक्ने गम्भीर आशंका पैदा गरेको उल्लेख छ ।
गैरभुटानीहरूलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो गिरोह संलग्न भएको र यसमा केहि नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ , –‘नेपालस्थित भुटानी शरणार्थी शिविरमा भुटानीहरू नभएको भुटान सरकारको आरोपलाई पुष्टि हुनेगरी सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणले हामी शिविरमा बस्दैआएका सक्कली भुटानीहरू अत्यन्तै दुःखित भएका छौ ।’
स्वदेश फिर्ती र परिवार मिलनको आशामा कष्ठपूर्ण जीवन बिताइरहेका करिब ६ हजार ५ सय हाराहारीका भुटानी शरणार्थीहरू र खाट्टी तर पञ्जीकृत हुन बाँकी भुटानीहरूको हितलाई ध्यान दिन समितिले माग गरेको छ ।
शरणार्थी परिचयपत्र नवीकरण गरेको आठ महिनाभन्दा बढी भइसक्दा पनि उनीहरूले नयाँ परिचयपत्र पाएका छैनन् । नवीकरण भएको परिचयपत्र वितरणमा चरम ढिलासुस्ती भएकाले सक्कली भुटानीहरू परिचयविहीन हुने अवस्था सिर्जना भएको बिज्ञप्तिमा जनाईएको छ ।
यस्तै ,पिस ईनिसिएसिभ भुटानले पनि एक बिज्ञप्ति निकालेर नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानवीन गरि दोषी माथि कडा सजाय दिन माग गरेको छ ।