झापा ,३० बैशाख । झापामा पछिल्लो समय पशुचौपायमा लम्पी स्किन रोग तीब्र गतिमा फैलिएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा यो रोगको जोखिम बढेर गएको पशु विज्ञ केन्द्र झापाले जनाएको छ ।
पशु विज्ञ केन्द्र झापामा सूचना अधिकारी गणेश भट्टराईले जिल्लामा यस रोगको सबैभन्दा धेरै प्रभाव गौरादह नगरपालिका र बाह्रदशी गाउँपालिकामा परेको बताएका छन् । यसैगरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिका क्षेत्रमा चाहिँ यसको प्रभाव कम रहेको उनले बताए ।
सूचना अधिकारी भट्टराईले यो रोग कोरोनासँगै आएको तर, पछिल्लो समय मात्र यसले महामारीको रुप लिएकोे बताएका छन् । रोग लागेको पशुहरुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण रहेको उनले बताएका छन् । साथै यस रोग लागेको पशुहरुको खुट्टा सुन्निने, मासु झर्ने र नली खुट्टा मात्र बाँकी रहने गरेको पनि पाइएको उनले बताए ।
अघिल्लो वर्ष असार, साउन र भदौमा बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा यस रोगको प्रभाव देखिदा विज्ञ केन्द्र झापाले आकस्मिक रोग नियन्त्रण शिविर सञ्चालन गरेको तर यस वर्ष बजेट अभावले सो काम गर्न नसकोको सूचना अधिकारी भट्टराईले जानकारी दिए । उनले हाल जिल्लाका केही नीजि भेटनरी अस्पतालहरुमा यस रोगको भ्याक्सिन उपलब्ध भएको बताएका छन् । उनले उक्त भ्याक्सिन रोग लागेको पशुलाई प्रयोग गर्न नमिल्ने समेत बताएका छन् । रोगी पशु रहेको ५ किलोमिटर वरपरका वस्तुहरुमा पनि सो भ्याक्सिन प्रयोग गर्न नमिल्ने उनले बताए । सो भ्याक्सिन रोग नलागेका वस्तुहरुलाई रोग लाग्न नदिन मात्र प्रयोग गर्न सकिने उनले जानकारी दिए ।
जिल्लाकै सबैभन्दा प्रभावित क्षेत्र गौरादह नगरपालिका क्षेत्रमा यसका रोकथामका निम्ति नगरपालिकाले गाउँ–गाउँमा विज्ञ पठाएर निशूल्क रुपमा पशु उपचार गरिरहेको पालिका प्रमुख छत्रपती सुवेदीले बताएका छन् । उनले यसको भ्याक्सिनको प्रयोग गर्न नमिल्ने भएका कारण औषधीहरुको प्रयोग गरेर रोकथाम गर्न प्रयास गरिरहेको बताएका छन् ।यसैगरी बाह्रदशी गाउँपालिकाका पशु शाखा प्रमुख देव कुमार यादवले बाह्रदशीमा करिब ३० वटा पशुहरु मरिसकेको बताएका छन् । उनले यसको रोकथामका निम्ति हाल सामान्य औषधी उपचार मात्र भइरहेको बताएका छन् । उनले बजेटको अभावले यसमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । आउँदो आर्थिक वर्षबाट बजेट व्यवस्थापन गरेर रोकथामको कामलाई तीब्रता दिने उनले बताए ।