चट्याङ लागेर पूर्व वडाध्यक्षको मृत्यु ,पाँचथरमा ५४ वटा भेडा मरे

झापा, १६ बैशाख । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गएराति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । कडरिया पूर्व वडाध्यक्ष हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियालाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइने कार्कीले बताए । केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो ।

चट्याङले पाँचथरमा ५४ वटा भेडा मरे, सुसारे घाइते
चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ को एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङ्बोको फर्ममा १२ वटा भेडा भने घाइते भएका छन् ।
भेडा फर्मको स्याहार सुसारमा जुटेका याङबरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए । भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।

Leave a Reply

Your email address will not be published.