फिदिम, १८ चैत । फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा, बिर्तामोड नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार शुक्रवार राती ७ः३० वजे तिर दुर्घटना भएको हो ।
सोही वतनका स्वयम चालक रहेका मृतकका बुबा ४५ वर्षीय राजु भुजेल गम्भीर घाइते भएका छन् । राजुकी श्रीमती ३९ वर्षीया लीला भुजेल र ४० वर्षीया दिदी सिता भुजेल गम्भीर घाइते रहेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए । उनीहरू तिनै जना बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका राजुका १३ वर्षका छोरा राजमोहन भुजेल सकुशल रहेको जनाइएको छ ।
एकै परिवार सवार कार दुर्घटना भएको डेड घण्टापछि स्थानीयले सूचना दिएपछि घाइतेको उद्धार गर्न प्रहरी पुगेको थियो । उद्धारपछि फिदिमको जिल्ला अस्पतालमा घाइतेहरूको उपचार गर्न पुर्याइएको थियो । उपचारकै क्रममा रश्मिको राती १०ः४९ बजे मृत्यु भएको बताइएको छ । कार सडकदेखि २०० मिटर तल झरेको र दुर्घटनाको कारणका बारे अनुसन्धान भइरहेको खतिवडाले बताए ।
चट्याङ लागेर एक महिलाको मृत्यु
ओखलढुङ्गामा शुक्रबार दिउँसो वर्षासँगै परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । चम्पादेवि गाउँपालिका –६ भदौरेकी २० वर्षीया शर्मिला कार्कीको चट्याङ लागेर ज्यान गएको हो ।
खेतमा गहुँ काटिरहेको समयमा वर्षासँगै आएको चट्याङ लाग्दा कार्की र सोही ठाउँकी वर्ष १३ की अरुण कार्की घाइते भएकी हुन्। प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारको क्रममा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
घाइते अरुण कार्कीको उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक दासले बताए । प्रहरी चौकी चुप्लु घोराखोरीको प्रहरी टोलीबाट घटनास्थलमा पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।