दमक,५ चैत । दमक– ३ स्थित अक्सफोड बोर्डिङ स्कुलले आफना एक शिक्षकले कक्षा १ का एक जना विद्यार्थीलाई कुटपिट गरेर यातना दिएको घटना प्रति दुख प्रकट गदैं क्षमा मागेको छ ।
स्कूल प्रशासनका तर्फबाट प्रिन्सीपल गंगादेव चौधरीले शनिवार सूचना निकालेर गत चैत ३ गते भएको कुटपिटको घटना प्रति आफनो गंभीर ध्यानाकर्षण भएको जनाउदै अव उप्राप्त त्यस्ता घटना हुन नदिने प्रतिवद्धता जनाएका छन् । प्रशासनले विद्यार्थी कुटपिटको घटना प्रति गल्ती भएको स्वीकार गदैं घटना प्रति दुख व्यक्त गरेको उल्लेख छ । २०५५ सालमा स्थापित सो स्कुल कक्षा १० सम्म सञ्चालन हुदैआएको छ ।
स्कूलले कुटपिट घटनामा संलग्न शिक्षिकालाई बर्खास्त गरिएको र घटनाबारे छानवीन गरिरहेको जनाएको छ । त्यस घटनाले विद्यार्थी तथा अभिभावकहरुमा पर्न गएको चोट प्रति क्षमा माग्दै विज्ञप्तिमा भनिएको छ, –‘ग्रामीण क्षेत्रमा रहेको यस विद्यालय गुणस्तरिय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहेको र आम विद्यार्थी तथा अभिभावकहरुले समेत सदैव सहयोग पुरयाँई दिन अनुरोध गर्दछौ ’
स्कूलले बालमैत्री सिकाईका रुपमा पठनपाठन गराउदै आएको स्मरण गराउदै कुनै पनि बहानामा विद्यार्थी माथि कुटपिट,गालीगलौज गर्नु निन्दनीय संगै दण्डनीय भएको जनाएको छ । साथै, विद्यार्थी माथि अप्रत्यासित रुपमा भएको कुटपिट घटनाको जिम्मेवारी विद्यालय प्रशासनले लिएको र त्यही घटनालाई जोडेर अर्नगल प्रचारवाजी नगरिदिन समेत सवैपक्षसंग अनुरोध गरिएको उल्लेख छ ।
गत चैत ३ गते स्कूलकी शिक्षिका एलिना न्यौपानेले कक्षा १ मा अध्ययनरत छात्र इभान बराललाई होमवर्क नगरेको भन्दै निर्घात कुटपिट गरेको घटना बाहिरिएको थियो । विद्यार्थीले दुई वटा प्रश्नको उत्तर किन नलेखेको भन्दै कक्षा कोठामा नै पाइपले हिर्काउदै सजाय दिएकी थिइन् । ती शिक्षिकाले होमवर्क नगर्ने विद्यार्थीलाई समेत यसरीनै सजाय दिदैआएको समेत खुल्न आएको छ ।
कुटपिटबाट छात्र बराल हिडडुल गर्न नसक्ने अवस्थामा छन् । दुवै खुट्टामा निलडाम भएको छ । सामाजिक सञ्जालमा बालकमाथि भएको कुटपिटको घटना निकै चर्चा हुन पुगेको छ । पढ्न गएका विद्यार्थीलाई यसरी सजाय दिएपछि पीडित बराल परिवारले शिक्षकको व्यवहार प्रति चरम असन्तुष्टि जनाउदै सम्बन्धित स्कूल प्रशासन संग गुनासो समेत गरेका थिए ।