दमक ,२८ पुस । दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाईँ (गोपाल ) ले नेकपा एमालेसहित व्यवसायीक संगठन परित्याग गरेका छन् ।२०५० सालदेखि अनेरास्ववियु हुँदै नेकपा एमालेका विभिन्न तह र तप्कामा रही पार्टी सङ्गठनमा सक्रिय रहिआएका गुरागाईले पार्टीसहित नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ दमक नगरकमिटीका उपाध्यक्ष पद परित्याग गरेका हुन् ।
उनले आज आफनो सामाजिक सञ्जालमा पोष्ट गरि पार्टी छाडेका उल्लेख गरेका छन् । उनले भनेका छन्, –‘पार्टीले खटाई पठाएर दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तृतीय, द्वितीय, प्रथम हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि कुसलतापूर्वक सञ्चालन गरी नगरका उद्योगी र व्यवसायी तथा पार्टीको हितमा काम गर्दै आइरहेको छु । आजका मिति देखि जनवर्गीय सङ्गठन तथा नेकपा एमालेमा नरहेको व्यहोरा अवगत गराउँछु । व्यक्तिगत रूपमा मेरो कोही कसैप्रति कुनै इगो वा लान्छना केही छैन् । आजसम्म साथ सहयोग गर्नुहुने सबैसँग व्यक्तिगतरूपमा भोलि पनि उस्तै सम्बन्ध रहने कुरा जानकारी गराउँछु । ’
संघको नयाँ नेतृत्वका लागि यहि माघ ६ गते हुन गईरहेको निर्वाचनमा एमालेले अर्का व्यवसायी नेता बिमल खतिवडालाई अध्यक्षमा उम्मेदवार बनाएपछि आकांक्षी गुरागाईले पार्टीमा विद्रोह गरेका बुझिएको छ । उनलाई नेपाली कांग्रेसले पार्टीका तर्फबाट अध्यक्षका उम्मेदवार बनाउने तयारी गरेको बताईएको छ ।