दमक, २ मंसिर । झापामा आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सवै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार मतदान अधिकृतसहितका कर्मचारीहरू मतदानस्थलमा बिहीबारदेखिनै कार्यक्षेत्रमा खटिएका छन् ।
सदरमुकाम चन्द्रगढीमा रहेको मुख्य निर्वाचन अधिकृत तथा जिल्लाका विभिन्न स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझेर उनीहरू कार्यक्षेत्रमा हिँडेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिए। कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि निर्वाचन स्थल पुगि सकेका छन् । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटीका, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदान स्थल पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित अन्य अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ५६ प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र र अनुसूची फारमहरू बुझेर कर्मचारीहरु मतदान केन्द्रस्थलहरुमा पुगिसकेका छन् ।
झापामा ३ लाख ३१ हजार ४४ जना पुरुष ,३ लाख ३२ हजार २ सय ५९ महिला तथा ८ अन्य गरी कुल ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधसभातर्फ ५ सिटकालागि ९४ र प्रदेशसभातर्फ १० सिटका लागि ९८ गरी कुल १ सय ९२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
७६८ वा मतदान केन्द्र
झापा जिल्ला कारागार र मेची रंगशालासहित दुई अस्थायी र विभिन्न ठाउँमा २ सय ८५ गरी कुल २ सय ८७ वटा मतदान स्थल कायम गरिएको छ । त्यसैगरी दुई अस्थायी र ७ सय ६६ स्थायी गरी कुल ७ सय ६८ वटा मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले जानकारी दिए ।
आगामी निर्वाचनमा सुरक्षाको दृष्टिले झापाका मतदान स्थललाई तीन किसिममा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। उनका अनुसार २ सय ७१ वटालाई अति संवेदनशील ३ सय ८१ वटालाई संवेदनशील र १ सय १४ मतदान स्थललाई सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको छ । सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील तथा समान्य अवस्थाअनुसार सुरक्षकर्मी परिचालन हुने छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा योजनाअन्तर्गत नै संयुक्त रूपमा परिचालन गरिने भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
निर्वाचनमा ९०९६ जना कर्मचारी
७ सय ६८ मतदान केन्द्रमा ७ सय ६८ जना मतदान अधिकृत र त्यती नै संख्यामा सहायक मतदान अधिकृत तोकीएको र उनीहरु सवै कार्यक्षेत्र पुगेको बताइएको छ । यसैगरी प्रत्येक मतदान केन्द्रमा ५-५ गरी ७ सय ६८ मतदान केन्द्रमा ३ हजार ८ सय ४० जना सहायक कर्मचारीको व्यवस्था गरिएको छ भने प्रत्येक मतदान केन्द्रमा ४÷४ गरी २ हजार ९ सय ५२ जना स्वयम् सेवक र ७ सय ६८ मतदान केन्द्रमा १÷१ गरी ७ सय ६८ जना कार्यालय सहयोगीको व्यवस्थापन गरिएको छ ।
जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक र कार्यालय सहयोगी गरि कुल ९ हजार ९६ जना कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ ।