भालुको आक्रमणबाट तामाङ घाइते

ताप्लेजुङ ,२० कार्तिक । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते भएका छन् । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तामाङलाई शनिबार दिउँसो भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट तामाङको अनुहार र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि शनिबार नै झापास्थित बीएण्डसी अस्पतालमा र्पुयाएर थप उपचार सुरु गरिएको बताइएको छ ।
शनिबार गाउँ नजिक गुम्बाडाँडा क्षेत्रमा मालिङ्गो सङ्कलन गर्न गएको समयमा तामाङलाई भालुले आक्रमण गरेको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिईन् । उपाध्यक्ष कडरियाका अनुसार तामाङसँगै मालिङ्गो सङ्कलन गर्न गएका अन्य दुई जना भने सकुशल जङ्गलबाट फर्किएका थिए । लेकाली क्षेत्रमा पाइने बाँस प्रजातिको मालिङ्गो गाउँघरमा प्रयोग गरिने डोको बुन्ने चोयाका लागि किसानले सङ्कलन गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published.