झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि २५ जना उम्मेद्वार


दमक ,२६ असोज । झापा क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ २५ जना उम्मेद्वार कायम रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका दुई आकांक्षी उम्मेद्वारले मनोनयन फिर्ता लिएपनि ३ महिलासहित अझै २५ जना उम्मेद्वार कायम रहेको झापा क्षेत्र नं. ५ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२५ जना मध्ये १२ जना स्वतन्त्र उम्मेद्वार छन् भने १३ जना विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेद्वार खडा भएका छन् । क्षेत्र नं. ५ मा प्रतिनिधिसभातर्फ सुलोचना राजवंशी र विष्णुप्रसाद सिग्देलले मनोनयन फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी झापा क्षेत्र नं. ५ प्रदेशसभा क्षेत्र नं.(१) मा ३ महिलासहित १० जनाको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकजना प्रदेशसभा सदस्यका लागि ११ जनाले मनोनयन दर्ता गराएका थिए । ती मध्ये इन्द्रबहादुर न्यौपानेले आफ्नो मनोनयन फिर्ता लिएको जनाइएको छ ।
त्यसैगरी क्षेत्र नं. ५ प्रदेशसभा (२) मा ४ जनाले मनोनयन फिर्ता लिंदा १२ जना उम्मेद्वार कायम रहेका छन् । ती मध्ये आठजनाले दलीय प्रतिनिधित्व गरेका छन् भने ४ जना स्वतन्त्र उम्मेद्वार रहेको सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
झापाका १५ जना उम्मेदवारले लिए नाम फिर्ता
आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।
उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की , १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी , राजन चिमरिया , क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल , स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत , क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी , स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल , ४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ रहेका छन् । त्यस्तै क्षेत्र नं ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा एकजना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी , विष्णुप्रसाद सिग्देल , प्रदेशतर्फ ५ को ‘क’मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने , ५ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम , दिपेन्द्र तिवारी , राजन चापागाई र राप्रपा नेपालका उम्मेदवार वासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।
झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको थियो ।
आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेगरी समय तोकिएको थियो ।
आयोगले बुधबारै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक समेत सार्वजनिक गरेको थियो । उम्मेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उम्मेदवारहरुको अन्तिम नामावली आयोगले बुधबार दिउँसो १ देखि ३ बजेसम्ममा प्रकाशन गरेको छ ।अन्तिम नामावली प्रकाशन भएसँगै उम्मेदवारहरुले बुधबारै आफ्नो चुनाव चिह्न पनि वितरण गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.