साथीभाई समूहद्धारा ट्राफिक सचेतना कार्यक्रम


दमक, १३ असोज। दमकमा बिभिन्न सामाजिक गतिबिधि गर्दै आईरहेको साथीभाइ समूहले आज दमक बसपार्क क्षेत्रको रंगरोगन गर्नुका साथै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम सम्पन गरेको छ । बसपार्क क्षेत्रमा यस अघि सरसफाई गरि गमलामा फुल रोपेर सौन्दर्यकरण गर्दै आएको समूहले आज यात्रु प्रतिक्षालय लगायतमा रंगरोगन गरेर सुन्दर बनाएको समूहका सदस्य चन्द्र खत्रीले जानकारी दिए ।
चाडपर्बको समयमा सवारी साधन र यात्रुको चाप बढ्ने हुँदा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागी सरोकारवालाहरुलाई सचेतना जगाउन कार्यक्रमको आयोजना गरिएको खत्रीले बताए । समूहका अध्यक्ष गङ्गा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले साथिभाई समूहले बसपार्क क्षेत्रमा गरेको सरसफाई लगायतको काम उदाहरणीय भएको बताए । यसरी आ-आफ्नो क्षेत्रमा सबैले सरसफाई गर्ने हो भने नगरनै पुरै ब्यवस्थित बन्ने उनले जोड दिए ।
समूहका सचिव दिपेन्द्र तिवारीले सञ्चालन गरेको कार्यक्रममा दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर थापा, ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सुन्दर श्याम पोख्रेल, दमक जेसीजका अध्यक्ष सन्जिब बराल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.