कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाको २२ औं साधारण सभा सम्पन्न


दमक,२९ भदौं । दमक -८ मा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले आज विभिन्न कार्यक्रम गरि आफनो २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
भदौ १६ गतेदेखि संस्थाका सदस्यहरुलाई बार्षिक प्रतिवेदन वितरण गरेको सो सहकारी संस्थाले गत भाद्र २५ सम्ममा सुझावहरु लिएर आज बिहिबार भने औपचारिक कार्यक्रम गरी साधारणसभा समापन गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले बताए।
राष्टिय सहकारी बैंक लिमिटेडका लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारी संस्थाहरुलाई संरक्षण गर्ने अभिभावकको अभाव भएको बताए । उनीहरुले सहकारी अभियानमाथि नियोजित प्रहार भइरहेकोले यसका विरुद्ध सहकारीहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धालाई हटाएर एकजुट हुन आवश्यक रहेकोमा पनि जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, मेची बहुउद्धेश्यीय सहकारीका अध्यक्ष नारायण प्रसाद भटटराई, राष्टिय सहकारी बैंक दमककी प्रमुख मुना केसी ,दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल, कञ्चनजंघा सहकारीका सल्लाहकार संयोजक होमबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको ७४ करोडको वासलात प्रस्तुत गरेका थिए । संस्थाका उपाध्यक्ष भरत चम्लागाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कारोबारी र बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो।
सम्मान तथा पुरस्कार
व्यवस्थापक निरौलाका अनुसार संस्थाका शेयर सदस्यहरुका परिवारबाट सामुदायिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्ण हुने दिक्षा भारती, छात्र तर्फ जिनश श्रेष्ठ,संस्थागततर्फ छात्रा तर्फ निशा काफ्ले र छात्रतर्फ दिपेश भण्डारी र प्लशटु विज्ञान तथा प्राविधिक तर्फ प्रतिक कोइरालालाइ नगद, प्रमाणपत्रसहित पुरस्कृत गरियो । यस्तै, मुख्य कार्यालय अन्तर्गत १२ जना उत्कृष्ठ कारोवारी, डुडाँमारी सेवा केन्द्र अन्तर्गत ८ जना , गौरादह सेवा केन्द्र अन्तर्गत ७ जना, उर्लावारी सेवा केन्द्र अन्तर्गत ४ जना , पथरी सेवा केन्द्र अन्तर्गत ३ जना ,मिक्लाजुंग सेवा केन्द्र अन्तर्गत ४ जना उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई समेत सम्मानसहित पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.