दमक, २९ भदौ । दमक नगरपालिकाले बुधबारदेखि डेंगु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्न र घर वरपर सरसफाई गर्न सचेतना जगाउने उद्देश्यले लामखुट्टे नष्ट अभियान सुरु गरेको छ । सो अभियानको उद्घाटन दमक नगरका प्रमुख रामकुमार थापाले गरेका हुन् ।
प्रमुख थापाले सबैको सक्रियतामा डेंगुको लार्भा नष्ट गर्न सकिने भन्दै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताए । दमक नगरपालिकाका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराईले डेंगु नियन्त्रणमा लार्भा नष्ट गर्नुको विकल्प अरु नभएकाले पानी जम्न नदिने र घर वरपर राखिएका टायर र प्लाष्टिकका बट्टाहरु हटाउन अनुरोध गर्दै अभियान चलाउने योजना बनाइएको बताए ।
सो अभियानमा प्रमुख थापा, उपप्रमुख रेगिना भटटराई , नगरपालिकाका कर्मचारी, प्रहरी, नगर प्रहरी, स्काउटका विद्यार्थी लगायत सहभागी थिए । अभियानका क्रममा रयालीसहित दमक नगर परिक्रमा गरिएको थियो ।