बिर्तामोड , २७ भदौ । किरात याक्थुङ चुम्लुङ विर्तामोड वडा न. ५ को वडा महिला समूहको नेतृत्व चयन भएको छ । दुई दिन अघि सम्पन्न समूहको चौथो साधारण सभाले पुनः पवित्र तेयुङ लावतीको अध्यक्षतामा समूहको नेतृत्व चयन गरेको हो ।
चुम्लुङ विर्तामोड नगर शाखा सदस्य भिमा नेम्बाङ कन्दङवाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले गठित १३ सदस्यीय महिला समूहको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भिमा केरुङ् लिङ्देन, देशमाया बेघा लोवा, नितु नेम्बाङ् फागो र रञ्जना नेम्बाङ् कुरुम्बाङ चुनिएकी छिन् ।
यसैगरि सदस्यहरुमा शान्ता लावती शेर्मा, विष्णुमाया काम्बाङ मेन्याङवो, कमला राखाल लिङ्देन, प्रमिला इङ्नाम थलङ, कुमारी नेम्बाङ सेन्दाङ, सुष्मा फेदापे, कविता लिङ्देन र कुसुम राई मेन्याङवो चुनिएकी छिन् ।
समूहकी अध्यक्ष पवित्र तेयुङ् लावतीको सभापतित्वमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष रन्जना नेम्बाङ कुरुम्बाङले ११ लाख २२ हजार २ सय बरावरको आय व्यय प्रस्तुत गरिन भने कार्यक्रम सञ्चालन समूहकी सल्लाहकार तथा पूर्व उपाध्यक्ष मानुदिङ गङ्गादेवी कन्दङ्दवाले गरेकी थिइन् ।साधारणसभाले तिलबहादुर सिगु, स्वर्ण लोवा र मानुदिङ गङ्गादेवी कन्दङ्वा काम्बाङलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
विर्तामोड ५ स्थित इन्द्रेणी टोलमा बस्दैआएका स्थानीय लिम्बू महिलाहरुले आफ्नो लिम्बु भाषा लिपि, भेषभुषाको संरक्षण, सम्बद्र्धन गर्ने उद्देश्यले समूह स्थापना गरि विगत केहिबर्ष देखि क्रियाशील रहिआएको छ ।
साधारणसभाले स्थानीय स्रोत र साधन परिचालन गरेर आगामी दिनदेखि लिम्बु भाषा, लिपि अनौपचारिक कक्षा सञ्चालन गर्ने समेत पारित गरिएको जनाइएको छ ।