दमक, १४ साउन । दमकमा करौडौ लागतमा निर्माण भएको फोहोरबाट उत्पादन भएको मिथेन बाँयो ग्यास प्रयोगबिहीन बनेको छ । उत्पादन गरेर सफल परीक्षण भएपनि नियमित सञ्चालनका लागि आवश्यक व्यवस्थापनमा सहयोग नपाएपछि मिथेन ग्यास दैनिक खेर गइरहेको छ ।
मिथेन ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइन मार्फत वितरणका लागि विस्तृत परियोजना विवरण बने पनि काम हुन नसकेको बताइएको छ ।दमक नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना हुँदा पनि यसको बिक्री वितरण सुरू हुन नसकेको नसकेको जनाएको छ । “फोहोरबाट ग्यास उत्पादन त सुरू भयो तर यसको बजारीकरणमा राज्यको सहयोग बेगर असम्भव छ” , प्रालिका अध्यक्ष युवराज घिमिरेले बताएका छन् ।
दमक २ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र संरचना निर्माणमा २० करोड ५८ लाख ९७ हजार रूपियाँ लागत पुगेको छ । निर्माणका समयमा कोरोना संक्रमण लगायतका कारण निर्माण योजनाको खर्च बढ्न पुगेको थियो । यसमा १४ करोड ७० लाख रूपियाँ बढी नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी ५ करोड आठ लाख रूपियाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी सम्झौता भएको घिमिरेले जानकारी दिए ।
नेक्स्ट प्रालिका निर्देशक विमल खतिवडाका अनुसार दैनिक २५ देखि २६ सय केजी ग्यास उत्पादन हुदैआएको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै पुनः नष्ट गराइदै आएको छ । मिथेन बायो ग्यास उत्पादन सुरु भएपनि उत्पादन भएको ग्यासलाई प्रशोधन गरेर ग्यास पाइप वा सिलिण्डरमार्फत वितरण गर्ने योजना पूरा हुन नसकेको उनले गुनासो सुनाए ।
“सरकार समक्ष पाइपलाइन विस्तारका लागि आवश्यक बजेट माग गरिरहेका छौं र यो भएमा पूर्वमा नमूना परियोजना बन्नेछ”, खतिवडाले भने । विशेषगरी दमक बजार क्षेत्रमा पाइपलाइनका लागि बनाइएको डीपीआर अर्थात विस्तृत परियोजना विवरण कार्यान्वयन गरेमा तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पु¥याँउन सकिने पनि उनले जानकारी दिए ।
दमक नगरपालिकाका वातवरण तथा सरसफाइ शाखाका प्रमुख दोर्ण थापाका अनुसार दमक क्षेत्रमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको छ । यसमध्ये १५ टन फोहोर संकलन हुँदैछ । संकलन भएको फोहोरमध्ये ६६ दशमलव ५२ प्रतिशत जैविक अर्थात कुहिने फोहोर रहेको छ ।