बिश्वकप फूटबल खेल्ने यी हुन् ३२ टोली


झापा, १२ असार (एजेन्सी ) । आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुने विश्वकप फूटबल २०२२ मा सहभागि हुने सम्पूर्ण टोलीको टुंगो लागेको छ ।न्यूजिल्याण्डलाई हराउँदै कोस्टारिका फिफा विश्वकप फुटबल –२०२२ मा छनोट भएपछि सबै देशको टुंगो लागेको हो ।

अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति न्युजिल्यान्डलाई १–० गोल अन्तरमा हराउँदै कोस्टारिका छैठौं पटक विश्वकपमा छनोट भएको हो। कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गरे। क्याम्पबेलले खेलको तेस्रो मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो।

कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि सबै ३२ वटै टोलीको टुंगो लागेको छ । कोस्टारिका कतार विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो।
६९औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो। त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कन सकेन।
कतार विश्वकपमा कोस्टारिकाले समूह ‘ई’ बाट स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ। लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाएको कोस्टारिका छैटौं पटक विश्वकपमा छनोट भएको हो। कोस्टारिका २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो।

यसपटक विश्वकप खेल्ने टोलीहरुमा युरोपबाट १३ राष्ट्र छन् । जसमा फ्रान्स ,जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल, पोल्यान्ड र वेल्स छन् । एसियाबाट कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर छन् । त्यस्तै अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन, उत्तर तथा मध्य अमेरिकाबाट क्यानडा, अमेरिका, मेक्सिको, कोस्टारिका छन् ।

Leave a Reply

Your email address will not be published.