
झापा, जेठ २८ । नेपाल पुँजीबजार लगानीकर्ता संघ झापाले अत्यन्त कठिन मोडमा पुगेको नेपाली सेयर बजार जोगाउनु पर्ने माग गरेको छ ।
शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई पृष्ठ लामो५ बुँदे ज्ञापनपत्र बुझाउँदै संघले त्यस्तो माग गरेको हो। सरकार, राष्ट्र बैंक र सरोकारवाला निकायबीच समन्वय र सामञ्जस्यता नहुँदा सेयर बजार धरापमा परेको संघको निष्कर्ष छ । संघले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो।
आफ्नो गृहनगर धुलाबारीमा ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले सरकारले स्पष्ट नीति बनाएर समस्या सम्बोधन गर्नुपर्ने बताए । उनले समस्या समाधानका लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने विश्वास दिलाए । ‘बोलीमा मात्रै होइन, हामी व्यवहारमै काम र कार्यान्वयन गर्न चाहन्छौँ’ महामन्त्री शर्माले भने, ‘सरकारले आफैँ चासो दिएर हल गर्नु पर्ने समस्या तपाईंहरुले उठाइरहनु भएको छ, पार्टी र सरकार यो समस्या सम्बोधन गर्ने विषयमा सकारात्मक छ ।’ सेयर बजारलाई कसैले अनुत्पादक क्षेत्र भनेर बोल्दिँदा समस्या भएको उनको टिप्पणी छ ।
सरकारले सेयर बजारको लगानी व्यवस्थित गर्नु पर्ने ठाउँमा व्यवसायीले सरकारलाई घच्घच्याएकोमा महामन्त्री शर्माले प्रसन्नता समेत व्यक्त गरे । महामन्त्री शर्माले भने,‘अब राजनीतिक मान्छेलाई घच्घच्याउने अवस्थाको अन्त्य हुन्छ, त्यसका लागि सामुहिक पहल जरुरी छ ।’ सरकारले सेयर बजारमा आकर्षण बढाउने नीति बजेटमा समावेश गरेको उल्लेख गरेका महामन्त्री शर्माले प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेर समस्या समाधानको मार्ग पहिल्याउने आश्वासन दिए ।
राष्ट्र बैंकद्वारा शेयर कर्जामा लगाइएको ४÷१२ करोडको क्याप हटाइनु पर्ने, शेयर कर्जाको जोखिम भार १५० बाट १०० कायम गरिनु पर्ने, बैंक तथा वित्तीय संस्थालाई शेयर कारोवारमा लगाइएको प्रतिबन्ध फुकुवा गरिनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स र ब्रोकरलाई शाखा खोल्न अनुमति दिइनु पर्ने, काठमाडौँमा आन्दोलनरत पुँजीबजार लगानीकर्ता संघ – संगठनका नेतृत्वसँग वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान गरिनु पर्ने लगायतका माग सहितको ज्ञापनपत्र बुझ्दै महामन्त्री शर्माले समस्याको हल गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।
उनले बुझेको ज्ञापनपत्र तत्काल प्रधानमन्त्री देउवालाई पठाए । उनले आफू काठमाडौँ गएपछि सभापति देउवालाई भेटेर अर्थमन्त्री, गभर्नर, सरोकारवाला र प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा समस्या सुल्झाउन पहल गर्ने विश्वास दिलाए । लगानीकर्ता संघ झापाका अध्यक्ष कृष्ण कार्की, महासचिव रमेश लुइँटेलसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । त्यस अवसरमा उनीहरूले लगानीकर्तालाई सुकुम्बासी हुनबाट बचाउन, डिप्रेसनमा जान नदिन, आत्महत्या गर्नबाट जोगाउन, लगानी सुरक्षित गर्नु पर्ने लगायतका माग गरेका थिए । झापामा मात्रै ५ लाख जना लगानीकर्ता रहेको जनाइएको छ ।