
बिर्तामोड,२० बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा लालकिला हुने दावी गरे ।
झापाको हल्दिबारी १ गोलधापमा नेकपा एमालेले आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने कसैसंग हिम्मत ,साहस नभएको तर्क राखे । जनताले एमालेलाई जिताउने उनको भनाई थियो ।
उनले एमाले नेतृत्वमा मात्रै बिकास सम्भव भएकाले बिकास र समृद्धिका लागि पनि एमालेलाई बिजयी गराउनु पर्ने खाँचो भएको जिकीर गरे ।
एमाले विरुद्ध बनाइएको गठबन्धनले एमाले हराउछु भन्ने सोच नबनाए हुन्छ, अध्यक्ष ओलीले भने –‘ दुई होस या पाँच दल होस , एमालेले कराककुरुक बनाईदिन्छ । ’
उनले झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै ओलीले यहाँको बिकासका लागि जिम्मेवार हुने पार्टी मात्र एमाले भएको बताए । आफू हल्दिबारी नै किन आएको हुँ भने यहाँको बिकासको जिम्मा लिन आएको भन्दै उनले भने – ‘अध्यक्ष डम्बर गिरी,उपाध्यक्ष शान्ता गौतमसहित सबै एमालेका उम्मेदवारलाई जिताईदिन आग्रह गर्दछु ।’
कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार गिरीले सम्बोधन गरेका थिए ।
ओलीले भद्रपुर ,हल्दिबारी, धुलाबारी र बिर्तामोडका चुनावी सभालाई समेत सम्बोधन गरेका थिए ।