स्थानीय निर्वाचन : एमालेबाट आदिवासी जनजाति उपेक्षित

कमल, १५ बैशाख । आदिवासी जनजाति बाहुल रहेको झापाको दमक र कमलमा नेकपा एमालेले नजिकिएको स्थानीय तहको निर्वाचनका लागि समावेशी उम्मेदवार छान्न सकेन ।
धिमाललाई दमकको प्रथम नागरिक घोषणा गरेको स्थानीय सरकारको नेतृत्व गरिआएको एमालेले धिमाललाई दिएको प्रथम नागरिकको दर्जा र त्यस जाति,समुदायको अपमान गर्नुका साथै विभिन्न पदमा आदिवासी जनजातिलाई उपेक्षा गरेको छ । १० वडा रहेको दमकमा एमालेले अधिकांस पदमा आर्य तथा खस सम्प्रदायका मानिसलाई मात्र उम्मेदवार बनाएको छ ।
दमक ५ का वर्तमान वडाअध्यक्ष इन्द्र गुरुङ बाहेक सवै वडाध्यक्ष तथा वडा सदस्य पहुँच समुदायले उम्मेदवार वन्ने अवसर यसपटक पनि प्राप्त गरेका छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा यसपटक पनि दोहोरयाँईएका ५ वडाध्यक्ष मध्ये गुरुङ मात्र आदिवासी,जनजाति मूलका हुन् । पार्टीले दमक ४ बाट निर्वाचित वडाध्यक्ष कुमार साम्सुहाङलाई यसपटक भने दोहोरयाँएन् ।
यता कांग्रेस,माओवादी केन्द्र,राप्रपा,जसपा लगायतकाा दलहरु सम्मलित गठबन्धनमा पनि समावेशी ढाचामा उम्मेदवार उभ्याउन सकेनन् । राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई नगर प्रमुखका साझा उम्मेदवार खडा गरिएपनि त्यस गठबन्धनले यहाँका बहुसंख्यक समुदायलाई भावनालाई कदर गर्न नसकेको पाइएको छ । मेयर,उपमेयरसहित नेतृत्वदायी पदमा आदिवासी,जनजातिलाई उपेक्षित गरिएको जनजाति अगुवाको भनाई छ । नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले राजनीतिमा आदिवासी जनजातिलाई अवसर नदिदाँ ठुला पार्टीमा यी उपेक्षित वर्गको उपस्थिति हुन नसकेको बताउँछन् । उनी भन्छन्, –‘आदिवासी जनजातिलाई पार्टीमा भोट बैकका रुपमा मात्र उपयोग गरिने हिजोदेखिको चलन यसपटक पनि यहाँ दोहोरिएको छ । ’ नेतृत्व तहमा भन्दा उपस्थिति देखाउन पनि थोरै सदस्य दिएर यी समुदायका केहिलाई उम्मेदवार अघि सारेका उनको दावी छ ।
दमकको कुल मतदाता ५८१०६ मध्ये करिव ६० प्रतिशत मतदाता आदिवासी जनजातिनै छन् ।दमकमा खस आर्यपछि जातिय रुपमा लिम्बू,राई,धिमालको बसोबास धेरै छ । तर, यो निर्वाचनमा एमालेसहित गठबन्धनका दलहरुले वडाअध्यक्षमा समेत आदिवासी,जनजातिलाई उम्मेदवार बनाउन असफल भएका छन् ।
यता दमकसंग जोडिएको कमलमा पनि स्थानीय सरकारको नेतृत्व गरिआएको दल एमालेले आदिवासी, जनजातिलाई सन्तुलित रुपमा प्रतिनिधित्व गराउन बन्चित देखिएको छ । पालिकाको अध्यक्ष,उपाध्यक्षसहित ३७ जनाको आवश्यक जनप्रतिनिधि छान्ने पदमा आफनै रस्साकस्सीका कारण उपेक्षित छन् । कमलमा आदिवासी जनजाति समावेशी संरचना गर्न मुख्य दलहरु चुकेका छन् ।
नेकपा एमाले र कांग्रेस सम्मलित दुवै दलले अध्यक्षमा भने राईलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसका हुकुमसिंह राई र हालकी अध्यक्ष मेनुका काफ्लेसंग अध्यक्ष पदमा बराबरी मत आएपछि जातिय मत तान्न पनि एमालेले पनि यो पटक राईनै अघि सारेका छन् । कमलमा ३७९५० मतदाता मध्ये एक चौथाई बढी संख्याका मतदाता भने जातिय रुपमा राईको नै रहेको छ ।
एमालेले अध्यक्षबाहेक वडाध्यक्षमा १ राई , ३ वार्ड सदस्यमा राई, ३ जना वार्ड सदस्यमा लिम्बू समुदायका उम्मेदवार उठाएका छन् ।
मगर, गुरुङ लगायतका तीन जना र गैरआदिवासीबाट १९ जनालाई एमाले कमलले उम्मेदवार बनाएको छ ।
कांग्रेस,माओवादी, जसपा गठबन्धनबाट अध्यक्षमा राईसहित तीन वडाध्यक्ष र ४ जना वडा सदस्यमा लिम्बू , एक वडाध्यक्ष र अन्य २ जना सदस्यमा राई समुदायवाट र एक वडाध्यक्ष गुरुङ समुदाय र अन्य समुदायबाट १४ जनालाई वडा सदस्यका रुपमा उम्मेदवार बनाएको छ । यो हेर्दा गठबन्धनले उम्मेदवार चयनमा समावेशीलाई निकै प्राथमिकता दिएको नेपाल आदिवासी जनजाति महासंघ झापाका पूर्व जिल्ला अध्यक्ष पारषमणि राई बताउँछन् ।

Leave a Reply

Your email address will not be published.