चार महिनापछि कक्षामा फर्किए नोबेलका विद्यार्थी

विराटनगर,३ चैत । चार महिनादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेज विराटनगरका १० जना विद्यार्थी पढाइमा फर्किएका छन् । कलेज प्रशासनसँग सहमति भएपछि बिहीबार उनीहरु आन्दोलन स्थगित गरेर कलेजमा फर्किएका हुन् । उनीहरुको धेरै पढाइ छुटेकाले छुट्टै कक्षा सञ्चालन गर्ने सहमति भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालले बताए ।
नोबेल मेडिकल कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तर आंशिक माग सम्बोधन भएपछि ७१ जना विद्यार्थी पढाइमा फर्किएका थिए । तर १० जना भने आफूहरुलाई सुरक्षा खतरा रहेको भन्दै नोबेलबाट स्थानान्तरण माग गर्दै आन्दोलनमा थिए ।
बुधबार काठमाडौंमा भएको छलफलपछि विद्यार्थीहरु कक्षा फर्कन सहमत भएको कलेज प्रशासनले बताएको छ । सहमति पत्रमा कलेजका प्राचार्य प्रा. डा. रामहरि घिमिरे र सल्लाहकार डा. केपी शर्मा र विद्यार्थीको तर्फबाट आन्दोलनरत १० जना विद्यार्थीले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार १० जना विद्यार्थीहरुको पहिलो सेमेष्टरमा छुट भएको ४ महिनाको पढाइ पूर्ति गर्न ७ चैतदेखि दुई महिनासम्म कलेजले छुट्टै कक्षा सञ्चालन गर्नेछ ।

अनियमितता गर्ने चार कर्मचारी निलम्बित

ताप्लेजुङ, ३ चैत । ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा औषधीको किर्ते बिल बनाए अनियमितता गरेको विषय बाहिरिएसँगै चार जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताबारे यथार्थता नआउँदासम्मका लागि अस्पतालको फार्मेसी फाँटमा कार्यरत चार जना कर्मचारीलाई निलम्बन गरिएको हो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले फार्मेसी फाँटका चार जना कर्मचारीलाई निलम्बन गर्ने निर्णय गर्दै सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ । अस्पतालको फार्मेसीको औषधि विक्री वितरणमा अनियमितता भएको भन्ने चर्चा सार्वजनिक हुने गम्भीर विषय भएकोले सहायक प्रजिअको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका मादेनले यस विषयलाई गम्भीर रूपमा लिँदै छानबिन गरिने र यथार्थता पत्ता लगाउने बताए ।
चिकित्सकहरूको पुर्जामाथि आफैँ औषधि विवरण थपेर बिरामीबाट अतिरिक्त रकम असुलीमा फार्मेसीमा कार्यरत कर्मचारीहरूको सम्भावित संलग्नता पाइएको समिति बैठकले ठर्हयाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मोटो रकमको कागजातसहित बीमा दाबी पेस गरी बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्नेगरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने देखिएको पनि छानबिन समिति बनाएको बताइएको छ ।
सहायक प्रजिअ भट्टराईको संयोजकत्वमा समिति सदस्यमा जिल्ला अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका दुर्गा थापा र स्वास्थ्य कार्यालयका कम्प्युटर सहायक विवेक थुलुङ रहेका छन् । समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
यता जिल्ला अस्पतालको फार्मेसीमा अनैतिक रूपमा औषधि बिक्री वितरण र आर्थिक अनियमितता भएको विषय बाहिरिएसँगै उपचार सेवा प्रभावित भएको छ । अस्पतालका केही चिकित्सकमाथि आक्रमणको प्रयाससमेत भएकोभन्दै मङ्गलबारदेखि उनीहरू काम नफर्किएपछि सेवा प्रभावित बन्दै आएको हो ।
आक्रमणको प्रयास भएपछि आफूहरू असुरक्षित भएकोभन्दै सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने पनि चिकित्सकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.