धान खेतमा हाँस पालन शुरु

गौरादह, २९ भदौ । झापामा धानखेतीमा नै हाँस पालन सुरु गरिएको छ । यसमा लागत कम हुने र आम्दानी दोब्बर हुने हुँदा कृषक हर्षित भएका छन् । जिल्लाको गौरादह ७ मा राष्ट्रिय खाद्य बैक लिमिटेडले सञ्चालनमा ल्याएको कृषि परियोजना स्थलमा अहिले राइस डग फार्मिङ सुरु गरिएको हो ।
चीनबाट सुरू भएर जापानमा सफलतापूर्वक सुरु भएको यस खेती प्रणालीमा दोहोरो फाइदा हुन्छ । खेतमा बेर्न रोपको २२ दिनमा हाँसका २२ दिनका चल्ला खेतमा छोडिन्छ । यसले गर्दा धानलाई आवश्यक पर्ने मल उपलब्ध हुनुका साथै गोडमेल गर्नुपर्ने कामबाट पनि किसानले मुक्ती पाउँछन् ।
सुरुमा चल्ला खरिद गर्दा किसानलाई केही आर्थिक भार परे पनि परम्परागत रुपमा गरिँदै आएको खेती प्रणालीमा जस्तो अतिरिक्त लागत नलाग्ने हुँदा अधिक फाइदा हुने बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिले जानकारी दिए । यस प्रणालीबाट खेती गर्दा धान उत्पादन बढ्ने र हाँस विक्रीबाट पनि आमदानी गर्न सकिने उनले बताए ।
उनका अनुसार अहिले यस ठाउँमा धनन्जय चुँडालले यो खेती प्रणाली अवलम्बन गरेका छन् । सुरुमा अन्य किसान हाँसले खेत गोड्छ भन्दा चकित परेको तर अहिले आफूले उदाहरण नै प्रस्तुत गरेकाले सबैले पत्याएको उनको भनाई छ । बैंकले यहाँ पाँच विघाको हाराहारीमा स्थानीय जातका धान लगाएको छ । त्यसमध्ये पहिलो वर्ष परीक्षणको रुपमा एक हेक्टर धानखेतमा एक हजार हाँस छोडिएको छ । धानबालीलाई मात्रै नभएर अन्य बालीलाई पनि हाँसको मलले काम गर्ने हुँदा चुँडाल खुशी देखिएका छन् ।
परम्परागत कृषि प्रणालीमा खेतिबालीमा पशुपंक्षिलाई छोडे बाली नष्ट गर्ने भन्दै बारा बाँध्ने प्रचलन छ । यो प्रणाली धेरैका लागि अनौठो भए पनि यहाँ आसपासका किसानलाई यहि प्रणालीबाट खेति गर्ने प्रेरणा मिलेको उनको भनाई छ ।
आम्दानी दोब्बर हुने र अर्गानिक धान उत्पादन हुने भएपछि आगामी वर्षबाट आफूले यहि खेतिप्रणाली अनुसरण गर्ने सोहि ठाउँका अर्का किसान विष्णु लुइँटेलले बताउँछन् । अन्य ठाउँका किसानले पनि यो खेति प्रणाली अलम्बन गरे धेरै लाभ लिन सकिने उनको अनुभव छ ।
यो खेती प्रणालीको परीक्षण सफल भएकाले आगामी वर्ष अझै धेरै क्षेत्रफलमा राइस डग फार्मिङ गर्ने अठोट राष्ट्रिय खाद्य बैंकको रहेको छ ।

Leave a Reply

Your email address will not be published.