
झापा, ५ भदौ । नेपालका अधिकांश कृषि तथा नगदेबालीलाई बजार अभाव देखिन्छ । कृषि उपजको माग अध्ययन नहुँदा, नयाँ बजार नखोज्दा र सोही बमोजिम उत्पादनका लागि कृषकलाई उत्प्रेरित गर्ने अवधारण नबन्दा नेपाली उपजलाई बजार अभाव देखिएको हो ।
तर, सुपारी मात्र त्यस्तो नगदेबाली हो जुन फलका लागि पूmल नफुल्दै बगान बिक्री हुन्छ । यस वर्ष झापाका अधिकांश सुपारी कृषकले फल नलागी बगान बिक्री गरिसकेका छन् ।
बुद्धशान्ति गाउँपालिकाका रुद्र भण्डारीको २ बिगाह जग्गामा १ हजार बोट सुपारी छ । भण्डारीले दाना नलागी ५ लाख रुपैयाँमा सुपारीको बगान बिक्री गरिसकेका छन् । “फल नगानी मैले ५ लाख रुपैयाँ अग्रिम आम्दानी लिइसकें । यस वर्ष थप १ हजार नयाँ बिरुवा लगाएको छु ।” सुपारीलाई प्रशोधन गरेर पठाउन सके मूल्य अझ बढ्ने उनी बताउँछन् ।
बुद्धशान्ति गाउँपालिका–६ का आयुस निरौलाले पनि सुपारीको फूल नलाग्दै बगान बिक्री गरिसकेका छन् । स्थानीय व्यापारी हेमराज भट्टराईलाई २ लाख ३० हजारमा बगान बिक्री गरेको उनले बताए । उनले भट्टराईबाट अग्रिम पैसा लिइसके । “पछिल्लो समय सुपारी मात्र एक यस्तो खेती बनेको छ जसलाई बजार अभाव छैन” निरौलाले भने, “दुई वर्षपछि वार्षिक १० लाखको बिक्री गर्ने योजनाले थप १ विगाहमा खेती विस्तार गरेको छु ।” सुपारीको झ्याङ मुनि मरिचको विरुवा पनि लगाएकाले मरिचबाटसमेत आम्दानी हुने निरौलाले बताए ।
बुद्धशान्ति गाउँपालिका–५ का सुरेश खतिवडाले ५ बिगाहमा सुपारी लगाएका छन् । गत वर्ष ५ लाखमा बगान बिक्री गरेका खतिवडा यस वर्ष अझ बढी मूल्य पाउने आशामा छन् । उनी पनि बगान बिक्रीको तरखरमा छन् । सुपारी खेतीमा अग्रज कृषकका रुपमा चिनिने खतिवडा, सुपारीमा हुने तस्करी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । सरकारले मुलुकमा उत्पादित सुपारीको निर्यातलाई सहज बनाए नेपाली सुपारीले अझ बढी मूल्य पाउने खतिवडाको भनाइ छ ।
सुपारी खरिद गर्दै सहकारी
झापाको बुद्धशान्तिमा श्री कृष्ण सुपारी सहकारीले गत वर्ष १५ सय क्विन्टल सुपारी खरिद गरेको थियो । ७० जना सेयर सदस्य रहेको सहकारीले सेयर सदस्य साथै बाहिरका कृषकको सुपारीसमेत खरिद गर्ने गरेको छ ।
व्यापारीले दिने भन्दा केही बढी मूल्य दिएर सुपारी खरिद गर्ने गरेको सहकारीका अध्यक्ष विश्वनाथ ढकालले बताए । झापा साथै मोरङका कृषकको सुपारी खरिद गर्दै आएको सहकारीले सुपारी प्रशोधन गरेर मात्र बिक्री गर्ने गर्छ । प्रशोधन गरिएको सुपारी भारतीय व्यापारी साथै नेपालकै गुट्का फ्याक्ट्रिले लाने गरेका छन् । सहकारीले प्रतिकिलो ६३ रुपैयाँमा सुपारी खरिद गर्दै आएको छ ।
तस्करी रोकिए नेपाली सुपारीको मूल्य वृद्धि हुने
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा आर्थिक वर्ष २०७७ र०७८ मा १ अर्ब १६ लाख रुपैयाँ बराबारको ६ हजार ४ सय १५ टन सुपारी आयात भएको छ । उक्त सुपारी आयात भएको विवरण देखिए पनि निर्यातको विवरण भन्सार विभागसँग छैन ।
यसरी थाइल्याण्ड, इन्डोनेसियाबाट आयात भएको सुपारी अवैध रूपमा भारत पठाउने गरिएको छ ।
भन्सारका कर्मचारीसँग मिलेर विदेशी सुपारीलाई नेपाली उत्पत्तिको प्रमाणपत्र दिने र भारत निकासी हुने गरेको नेपाली सुपारी खेती विकास संस्थाका संस्थापक महासचिव कृष्णप्रसाद ढकालले बताए । तस्करीलाई रोक्न र निर्यातलाई व्यवस्थित गर्नसके नेपालमा सुपारी खेतीमा युवाको सहभागिता बढ्ने उनी बताउँछन् । पाकिस्तानमा नेपाली सुपारीको माग र मूल्य उच्च रहेपनि निर्यातका लागि कुनै पनि निकायले कुनै पनि प्रकृया अवलम्बन नगरेको ढकालको भनाइ छ ।
झापामा सबैभन्दा धेरै उत्पादन
झापाको अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सबैभन्दा बढी सुपारी खेती हुन्छ । यस क्षेत्रमा सुपारी नभएको घर कमै छन् । स्थानीय केहीले व्यावसायिक रूपमा सुपारी खेती गरेका छन् भने केहीले एक, दुई दर्जन बोटलाई आयस्रोतको माध्यम बनाएका छन् ।
झापा सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला हो । झापामा मात्र वार्षिक ९ हजार ७ सय ७२ मेट्रिक टन सुपारी उत्पादन हुन्छ । सरकारले झापाका दुई नगरपालिका र एक गाउँपालिकालाई समेटेर सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ । तर, जोनले सबै कृषकलाई समेट्न नसकेको कृषक रुद्र भण्डारीले बताउँछन् । नेपालको कूल उत्पादन १२ हजार ५ सय मेट्रिक टन सुपारीको करिब २० प्रतिशत मात्रै स्वदेशमा खपत हुने र बाँकी ८० प्रतिशत विभिन्न बाटोबाट भारत निकासी हुँदै आएको छ । (कारोवारवाट )