आदिवासी रंगशालामा ओलीले जालझेल गरे : अध्यक्ष प्रचण्ड

दमक ,१५ पुस । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आदिवासी रंगशालाको अस्तित्व कायम गर्न पनि यो संरचना बनिनु पर्ने जोड दिएका छन् ।
आज अपरान्ह झापाको कमल गाउँपालिका वडा न.५ स्थित निर्माणाधिन आदिवासी रंगशाला आएका प्रचण्डले आफू यो रंगशालाको विषयमा जानकार भएकाले पनि यो काम जसरी भएपनि पूरा गर्न आफू प्रतिवद्ध भएको उल्लेख गरे ।
रंगशाला निर्माणमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गर्दा समस्या आएको उनको टिप्पणी थियो । ओलीले रंगशाला बनाउन चाहेनन्, उनले भने, –‘ ओलीजीले रंगशाला बनाउन त चाहेनन् तर नाम नै उल्टाएर बखेडा झिके, यसले आदिवासी ,जनजातिमाथि अन्याय भएको छ । ’ आदिवासी जनजातिहरुको पितापूर्खाहरुको सम्मानका लागि पनि यो निर्माणाधिन आदिवासी रंगशाला बनाउन सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । उनले भने, ‘तपाईंहरुलाई यहाँ अन्याय भएको छ त्यो मैले बुझेको छु । पहिला हामीले बनाउने भनेकै हौ। ओली जीले झेली गर्नुभयो। अव हामी बनाउछौ। ’
त्यसक्रममा प्रचण्डलाई रंगशाला समितिसहित स्थानीय खेलकुद क्षेत्रका अगुवाहरुले स्वागत गरेका थिए । प्रचण्डले गाडीबाट ओर्लिने बित्तिकै रंगशालामा टेकेर यसो भनिरहँदा उनको स्वागतार्थ त्यहाँ भेला भएका माओवादी कार्यकर्ताहरु र सरोकारवालाहरु भने भावुक बनेको देखिन्थ्यो । प्रचण्डको रंगशाला आगमनको समयमा नेकपा एमालेका स्थानीय अगुवा नेता, कार्यकर्ताहरु भने राजमार्ग दक्षिणतर्फबाट नियालिरहेका थिए ।
गौरीगञ्जको कार्यक्रम सकेर सोझै निर्माणाधिन रंगशालामा आएका प्रचण्डलाई आदिवासी रंगशाला स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राई, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिष्ठानका सल्लाहकार रञ्जित तामाङ ,माओवादी कमलका अध्यक्ष रविन गुरुङ , कमल -५ का वडाअध्यक्ष लालबहादुर विष्ट लगायतले रंगशाला निर्माणमा भईरहेको कामका विषयमा संक्षेपमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published.