पथरीलाई क्षयरोग मुक्त नगर घोषणा गरिदै, नगरस्तरीय समिति गठन

पथरीशनिश्चरे, १४ पुस । पथरीशनिश्चरे नगरपालिकाले क्षयरोग मुक्त नगर घोषणा अभियानलाई तीव्रता दिन नगरपालिका स्तरीय समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
आज सम्पन्न सरोकारवालाहरुसहित भेलाले अभियानलाई थप प्रभावकारी सञ्चालनका लागि नगर प्रमुख मोहनप्रसाद तुम्वापोको संयोजकत्वमा पालिकास्तरिय समिति गठन गरिएको हो। नवगठित समितिको सह–संयोजक नगर उप–प्रमुख देविमाया काफ्ले, सदस्य सचिव नगर स्वास्थ प्रमुख मुरारी आचार्य, सदस्य प्रमुख प्रशासकीय अधिकृत शशी राई लगायत २२ सदस्यीय समिति गठन भएको छ ।
कार्यक्रममा पथरी नगर प्रमुख तुम्बापोले नगरलाई सकेसम्म छिटो क्षयरोग मुक्त क्षेत्र घोषणा गर्ने उद्देश्य रहेको बताए । उनले समुदायको सहकार्य र स्वास्थ्य संस्थाहरूको प्रभावकारी भूमिकाले मात्र यो लक्ष्य हासिल गर्न सकिने कुरामा जोड दिए । स्थानीय तहले यस अभियानलाई सफल बनाउन आवश्यक नीति तथा स्रोत साधनको व्यवस्थापन गर्ने नगर प्रमुख तुम्वापोले प्रतिबद्धता समेत जनाए ।
सोहि कार्यक्रममा प्रदेश स्वास्थ निर्देशनालय धनकुटाका क्षयरोग कुष्ठरोग अधिकृत तुलसीप्रसाद ढकालले क्षयरोग निवारणका लागि समुदायमा जनचेतना फैलाउने, बिरामी पहिचान गर्ने र समयमै उपचार सुनिश्चित गर्ने प्रक्रियाबारे सहजीकरण गरेका थिए ।
कार्यक्रममा पथरी शनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य अधिकृत जगत मगर, जनस्वास्थ्य निरीक्षक एकराज खत्री, प्रशासन शाखा प्रमुख शिव राई, १० वटै वडाका जनप्रतिनिधिहरू, स्वास्थ्य क्षेत्रका प्रतिनिधि, सामाजिक संस्थाका पदाधिकारीहरू र सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.