
गौरादह, १४ पुस । झापा,गौरादह -१ का कटुवाल परिवारले आफना दिवंगत पितृको स्मृतिमा गौरादहस्थित इलाका प्रहरी कार्यालयमा रु ५ लाख बढी रुपैयाको लागतमा आगन्तुक प्रतिक्षालय निर्माण गरिदिएका छन् ।
दिवंगत पिता खड्गबहादुर र आमा स्व. बालुकादेवी कटुवालको स्मृतिमा उनका छोराबुहारी कर्णबहादुर र शुष्मा कटुवालले प्रहरी कार्यालयको परिसरमा रु ५ लाख ८५ हजार ४१३ रुपैयाको लागतमा पक्की आगन्तुक प्रतिक्षालय निर्माण गरिदिएका हुन् ।
नवनिर्मीत आगन्तुक प्रतिक्षालयको आज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले उद्घाटन गरे । नवनिर्मित आगन्तुक प्रतिक्षालय सोहि अवसरमा प्रहरीलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रहरी प्रमुख भट्टराईले कटुवाल परिवारले नेपाल प्रहरी र सिंगो समाजलाई योगदान पुग्ने गरि गरेको सो पुण्य कामको प्रशंसा गरे ।
इलाका प्रहरी कार्यालय गौरादह व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेटवाल, गौरादह -१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले कटुवाल परिवारले सो क्षेत्रको शैक्षिक, धार्मिक तथा अन्य विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग र योगदानको स्थानीय सरकारले उच्च मूल्याङकन गरेको उल्लेख गरे ।
कार्यक्रममा गौरादह- २ का वडाध्यक्ष हेमन्त कार्की,इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्की, गौरादह उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अमृत कटुवाल , संघका निवर्तमान अध्यक्ष एवं कांग्रेस झापा क्षेत्र नं ५ (क) का सभापति जीवन राई , नेकपा माओवादी केन्द्रका शेरबहादुर कार्की लगायत स्थानीय राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।