५९ लाख ४० हजारमा किन्यो माङसेबुङ गाउँपालिकाले गाडी

माङसेबुङ ,१३ पुस । जिल्लाको माङसेबुङ गाउँपालिकामा नयाँ जनप्रतिनिधि आउनसाथ सुविधाभोगी देखिएको भन्दै आलोचना सुरु भएको छ ।माङसेबुङ गाउँपालिका अध्यक्षमा हेमन्त राई निर्वाचित भएपछि आफ्ना लागि नयाँ सवारी साधन खरिद गरेका छन् । नेकपा एमालेका तर्फबाट निर्वाचित अध्यक्ष राईले पहिलो गाउँसभाबाटै निर्णय गराई सवारी साधन खरिद गरेका हुन् ।
अध्यक्ष राईले गाडी आवश्यक रहेको कार्यालयले अनुभूत गरेकाले खरिद गरेको बताए । ‘कायौलयका लागि आवश्यक विभिन्न सामग्री ढुवानीका लागि पनि गाडी चाहिने देखियो । विभिन्न कार्यक्रममा सहभागी हुन पनि चाहिने देखियो’ अध्यक्ष राईले भने, ‘गाडी आवश्यक पर्ने नै भन्ने कार्यालयको बुझाई भयो । त्यसैले गाउँसभाकै निर्णय अनुसार खरिद गरियो ।’ सवारीका रुपमा र सामान ढुवानी दुवै प्रयोनका लागि गाडी किनिएको अध्यक्ष राईले बताए ।
गाउँपालिकाले अध्यक्षका लागि ५९ लाख ४० हजार रुपैयाँमा भर्खरै गाडी खरिद गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार चौहानले जानकारी दिए । गाउँपालिकाको पहिलो गाउँसभाबाट ‘गाडी खरिद’ शीर्षकमा ६७ लाख विनियोजन गरेको थियो । उभ्रेको रकमबाट एउटा मोटरसाइकल खरिद गर्ने तयारी भईरहेको चौहानले बताए । यसअघि गाडी प्रयोग नभएको गाउँपालिकामा गाडी प्रयोग हुन थालेपछि व्ययभार बढेको प्रमुख प्रशासकीय अधिकृत चौहानले बताए । ‘एक जना स्टाफ चपियो, इन्धन चाहियो, मर्मत लाग्ने नै भयो । यसले गाउँपालिकालाई व्ययभार बढायो’ प्रमुख प्रशासकीय अधिकृत चौहानले भने ।
अघिल्लो कार्यकालको जनप्रतिनिधिले प्रयोग नगरेको गाडी नयाँ जनप्रतिनिधि आउनसाथ खरिद गरिएको भन्दै अध्यक्ष राईको आलोचना सुरु भएको छ । यसअघि पहिलो कार्यकालमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष डिकेन्द्र इदिङ्गोले आफू गाडी नचढ्ने भन्दै सो रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएका थिए । उनले मोटरसाईकल भने गाउँपालिकाकै प्रयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published.