अराजकता विरुद्ध सरकार कठोर बनेको छ : मुख्यमन्त्री कार्की

दमक ,१३ पुुस । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताहरुका विरुद्ध सरकार कठोर भएर अघि बढ्ेको दावी गरेका छन् ।
अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको बिकास र समृद्धिको चाहनामा अवरोध पुरयाउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्ताहरुलाई पनि कानुनी कठघरामा ल्याउने सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री कार्कीको जोड छ ।
नेकपा एमाले दमक नगर कमिटीले शनिवार इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा आयोजना गरेको वनभोजसहित बाल प्रतिभाहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री कार्कीले भने – ‘सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौं अरबौं रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झैं गर्ने, आफैंले काटेको चेक मलाई थाह छैन भन्ने जस्ता गैह्रजिम्मेवारी पूर्ण जवाफ दिने सम्मका हर्कतहरु अराजक प्रवृत्तिहरु हुन् ।’
कुनै पनि बहानामा ठगी र अपराध गर्नेहरु कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उनले कुनै पनि दल विशेषको नेता हुँदैमा कानुनी कारवाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेहरुले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गरे ।
झण्डै ७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुक अघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको बिकास र समृद्धिको चाहनालाई अघि बढाइरहेको उनको तर्क छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्धय दिपक कार्की र इन्द्र भण्डारीले जब जब एमाले नेतृत्वको सरकार बन्छ तब तब विभिन्न उच्छृखंल र अराजक समूहहरु सरकारको लोकप्रियता विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विभिन्न आरोप र लाञ्छनाहरु लगाउँदै अपवाफ फैलाउदै आएको टिप्पणी गरे ।
एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा गत तिहारमा पार्टीको नगर कमिटीद्धारा सञ्चालित देउसी भैलोमा सांस्कृतिक नृत्यमा सहभागी सय बढी बालबालिकाहरुलाई सम्मान समेत प्रदान गरियो ।
कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, सचिव तुलसी कार्की, प्रदेश कमिटी सदस्यहरु राजकुमार थापा, सुशिल राई, घनेन्द्र सुब्बा, अनेमसंघ झापाकी सचिव लिला ढुंगेल (दाहाल) , झापा क्षेत्र नं ५ (ख) का प्रदेश सभा क्षेत्र इञ्चार्ज अम्बिका खनाल लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published.