
पथरीशनिश्चरे, १३ पुस । मोरङको पथरीशनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवर्धनका लागि ५ वटा पकेट कार्यक्रम अन्तर्गत कृषक समूहहरुसित सम्झौता भएको छ ।
संघीय सरकारको सशर्त अनुदान कार्यक्रम अन्तर्गतको बाख्रा पकेटमा ८नं वडाको समुन्नत बाख्रा पालन समूह, बंगुर पकेटमा वडा नम्बर २ को पथरीशनिश्चरे बंगुर पालन समूह, आलु पकेटमा वडा नम्बर २ को आलु पकेट सञ्चालक समितिसँग सम्झौता भएको हो ।
यसैगरी , मकै पकेटमा वडा नम्बर ३ स्थित सूचारु कृषि सहकारी, मौरी पकेटमा वडा नम्बर २ कै मौरीपालक कृषक समूहसँग सम्झौता भएको छ ।
त्यस्तै, प्रदेशकै नयाँ कार्यक्रमका रुपमा दुध मिसन कार्यक्रमअन्तर्गत भैंसी प्रवद्र्धन कार्यक्रम वडा नम्बर ९ को महेन्द्रचोक कृषि उत्पादन समूहलाई प्रदान गरी सम्झौता गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले समूहका किसानहरुलाई सम्झौतापत्र हस्तान्तरण गर्दै समूहले कृषि तथा पशुपालनका क्षेत्रमा उन्नति गरेर नमूना बन्न शुभकामना व्यक्त गरिन्।
जसमा, बाख्रापालनका लागि नगरको ७ लाख, समूहको ५ लाख ६२ हजार ५ सय गरी १२ लाख ६२ हजार ५ सय, बंगुरमा नगरको ६ लाख र समूहको ५ लाख १५ हजार गरी ११ लाख १५ हजार, आलुको नगरको ६ लाख र समूहको ५ लाख ५० हजार गरी ११ लाख ५० हजार रुपैयाँ रहने छ । त्यस्तै, मकैका लागि नगरको १२ लाख र समूहको ९ लाख ७५ हजार गरी २१ लाख ७५ हजार, मौरीका लागि नगरको ६ लाख र समूहको ५ लाख गरी ११ लाख तथा भैंसी प्रवद्र्धनमा नगरको १९ लाख ९४ हजार र समूहको ५ लाख ९० हजार गरी २५ लाख ८४ हजार रकम रहने सम्झौता छ । मकै पकेट र भैंसी प्रवद्र्धन यस वर्षको नयाँ कार्यक्रम रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहालले जनाए । दाहाल र कृषि शाखा प्रमुख सावित्रा कार्की सहितको सहभागितामा संझौता गरी सम्झौतापत्र हस्तान्तरण भएको हो ।