दमक,१२ पुस । मिस भुटान सविना सुब्बाको अभिनय रहेको नेपाली म्युजिक भिडियो ‘याद’ सार्वजनिक भएको छ । आइतबार दमकको गोर्खा डिपार्टमेन्टको हलमा एक कार्यक्रमका बीच ‘याद’ म्यूजिक भिडीयो सार्वजनिक गरिएको हो ।
हङकङ निवासी समाजसेवी तथा युवा उद्यमी त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच ‘याद’ म्यूजिक भिडियोको पोस्टर अंकित केक काट्नुका साथै भिडियो प्रदर्शन गरि सार्वजनिक गरिएको हो ।
भिडियोमा भुटानबाट नेपाल घुम्न आएकी युवती र पर्यटकहरुलाई घोडा सवार गरेर आयआर्जन गर्ने नेपाली युवकको प्रेमकथा प्रस्तुत गरिएको निर्देशक भुपेन्द्र तुम्बाहाङफेले बताए । युवा निर्देशक तुम्बाहाङफेकै निर्देशन तथा छायांकन, गायक जीवन साम्पाङ राईको शव्द, संगीत तथा आवाजमा मिस भुटान सविना सुव्वा र जीवन साम्पाङ राईको अभिनय रहेको छ ।
भिडियोमा भुटानबाट घुम्न आएकी सुन्दर युवती इलामको कन्याममा घुम्दा घुम्दै घोडा सवार गर्ने नेपाली युवकसँग एक अर्काको संस्कृति झल्किने भेषभूषा मायाको चिनो स्वरुप नजानिदो पाराले साटासाट गर्दै प्रेमको मुना पलाएको प्रेमिल दृश्य र अन्त्यमा घुम्न आएकी युवती फर्किने बेला युवकसँग नभेटी फर्केकी युवतीको यादमा बाँचिरहेको युवकको कथा समेटिएको छ ।
दर्शकले भिडियो हेरिसकेपछि निक्कै मन पराएको र दर्शकको सकरात्मक प्रतिक्रियाले थप उर्जा मिलेको निर्देशक तुम्बाहाम्फेले बताए ।उनका अनुसार उक्त म्यूजिक भिडियो थैली इन्टरटेन्मेन्टको प्रतुतिमा थैली इन्टरटेन्मेन्ट युट्यूव च्यानलबाटै सार्वजनिक गरिएको हो ।
जितेन साम्पाङको आर्ट एण्ड प्रडक्शनमा अनिल रानाको सम्पादन र रेनिश फागोको कलर रहेको भिडियोमा सोम मगरातीको मेकअप तथा किरण न्यौपानेको सहायक छायांकन रहेको छ ।