गुटउपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न सिटौलाको जोड

झापा,१२ पुस । नेपाली काङ्ग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार एक कार्यक्रम गरि नवनिर्वाचित समितिको सपथग्रहणसहित पदहस्तान्तरण सम्पन्न भ हो ।
गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट सात पदाधिकारीसहित ७२ सदस्यीय समिति निर्वाचित भएको थियो । निर्वाचन समितिले नवनिर्वाचित सभापति देउमान थेवेसहितलाई प्रमाणपत्र वितरण गरेपश्चात सपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काङ्ग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले नवनिर्वाचित सभापति थेवेलाई सपथ गराएका थिए । त्यसपछि थेवेले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराए । नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवं बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराएका थिए ।
सो क्रममा प्रमुख अतिथि सिटौलाले महाधिवेशनमा देखिएको गुटउपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिएका थिए ।
त्यस अवसरमा कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको नीति कार्यान्वयन एवं गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न सवै लाग्नु पर्ने औल्याएका थिए ।
त्यस्तै,नवनिर्वाचित सभापति थेवेले प्रतिबद्धता मन्तव्य राख्दै पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद महेन्द्रकुमारी लिम्बू, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, काङग्रेस झापा सभापतिका उम्मेदवार राम कट्टेल लगायतले बोलेका थिए ।
कांग्रेसको पहिलो बैठकका निर्णय

यसैबीच कांग्रेस झापाको सोमबार सम्पन्न पहिलो बैठकले यही पुस १६ गते पाँचवटै क्षेत्रमा क्षेत्रस्तरीय कार्यक्रम गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
यसैगरी प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं वीपी कोइरालाका सहयोद्धा आदिबासी नेता तुर्सा हेमरमको स्मृति दिवस पुस २० गते मनाउने, पुस २५ गते केन्द्रीय महामन्त्रीमा निर्वाचित झापाका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाई, महेन्द्रकुमारी सुब्बा, सुशिला ढकाल, प्रदेश सभापतिमा निर्वाचित उद्वव थापा एवं प्रदेश सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा उपविजयी बनेका सभापतिका उम्मेद्वार राम कट्टेललाई कांग्रेसको विधान बमोजिम जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
१४ औं जिल्ला अधिवेशन सम्पन्न गर्न वार्डदेखि जिल्ला तहसम्म खटिने निर्वाचन अधिकृत, सहायक अधिकृत, सहयोगी कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, नागरिक समाज एवं सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिए ।
यसैगरी बैठकले क्षेत्रीय, प्रदेश क्षेत्रीय, गाउँरनगर कार्यसमितिका बैठक यथाशिघ्र सम्पन्न गरी पार्टी संगठनलाई सशक्त बनाउने, टोल समिति गठन, बुथ समिति गठनलाई तिब्रता दिने र उमेर पुगेका मतदाताहरुको नामावली अध्यावधि गर्ने कार्य अघि बढाउने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.