मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडिया कप हुने

झापा,११ पुस । पर्यटन प्रबद्र्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप -२०८२’ आयोजना गरिने भएको छ ।
प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको पर्यटन क्षेत्रको अधिकतम प्रचारप्रसार गर्ने मुख्य उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्ने तय भएको प्रेस क्लब मेचीनगर अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछ । खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर लगायतलाई नगदसहित पुरस्कृत गरिने खेल संयोजक खगेन्द्र घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका ८ वटा मिडिया टिमको सहभागिता रहने खेल संयोजक घिमिरेले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रेस क्लब मेचीनगरले जनाएको छ । त्यसका लागि स्थानीय सरकार, संघसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आह्वान गरिएको छ ।
प्रतियोगिता सञ्चालनको तयारी थालेको प्रेस क्लब मेचीनगरले शुक्रबार जानकारी स्वरुप सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको सचिव प्रविण अधिकारीले बताए ।

 

Leave a Reply

Your email address will not be published.