रेडक्रसका सदस्य बिरामी राईलाई सहयोग प्रदान

दमक,११ पुस । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले आफना आजीवन सदस्य डम्बर कुमार राईको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।दुई महीना अघि पक्षघात भई उपचाररत राईको थप उपचारमा थोरै भएपनि सघाँउ पुरयाँउन संस्थाले ६५ हजार ५ सय रुपैया सहयोग गरेको हो । रेडक्रस सदस्यहरुबाट संकलित उक्त सहयोग सोमबार विरामीका परिवारलाई हस्तान्तरण गरिएको सचिव पारषमणि राईले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा उपशाखा सभापति चन्द्र साह, सचिव राई, उपसचिव बिष्णु सुब्बा, कोषाध्यक्ष प्रमोद कुमार दाहाल, रेडक्रसकर्मी ओमप्रकाश गौतम लगायतको उपस्थिति रहेको थियो ।

कमल ५ मंगलवारे निवासी राई रेडक्रस कमल उपशाखाका कार्यसमिति सदस्य तथा दमक ७ स्थित पृथ्वी माध्यमिक विद्यालयका शिक्षक समेत हुन् । सामाजिक क्षेत्रमा क्रियाशील राई  मोटरसाईकलमा सवार हुदाँ उच्चरक्तचापका कारण आफै दुर्घटनामा परेका थिए । उनको विराटनगरमा महीना दिन उपचार पछि हाल दमकको एक फिजीयोथेरापी केन्द्रमा थेरापी गरिआएका छन् । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको विरामीकी श्रीमती शुसिला राईले बताईन् ।

दानपेटिकामा संकलित रकम क्यान्सर पीडितलाई

दमकस्थित मिसाल मार्केटमा व्यवसायीहरुले स्वैच्छिक रुपमा दानपेटीकामा जम्मा गरेको रकम यहाँका एक जना क्यान्सर पीडितको उपचारार्थ सहयोगार्थ हस्तान्तरण गरिएको छ ।
दमक ३ दोघरेका क्यान्सर पीडित ५२ बर्षिय हर्कबिर विश्वकर्माको परिवारलाई दानपेटिकामा संकलन भएको मध्ये १० हजार ५ रुपैयाँ रकम सहयोग गरिएको दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका व्यवसायी सन्तोष पौडेलले जानकारी दिए । आर्थिक अवस्था समेत कम्जोर रहेका विश्वकर्मा धरानमा उपचाररत छन ।
सोमबार मिसाल बजार परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच सो सहयोग रकम हस्तान्तरण गरिएको थियो । एक बर्ष अघि त्यहाँका व्यवसायीहरुले दानपेटिका राखेर माता पाथीभराका नाममा स्वैच्छिक रुपमा दान रकम जम्मा गर्दै आएका थिए । सो सहयोग हस्तान्तरणपछि पनि दानपेटिका निरन्तर रुपमा राख्ने र आर्थिक विपन्नहरुको उपचार तथा विशेष सहयोग आवश्यक भएको अवस्थामा सो रकम प्रदान गर्ने कामलाई निरन्तरता दिइने व्यवसायीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.