
दमक, ११ पुस । झापाको दमकमा आयोजित प्रथम वडाध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले जितेको छ ।आज आइतबार भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर ३लाई टाईबेकरमा ३ का विरुद्ध ५ गोल गरी पथरी स्पोर्टिङ्गले उपाधि चुमेको हो ।
निर्धारित समयमा १ – १ को बराबरी भएपछि खेलको निर्णय टाईबेकरको साहारा लिइएको थियो । टाईबेकरमा पथरीका गोल रक्षक अर्जुन बस्नेतले आयोजक टिमका गणेश हेमरनको गोल बचाएपछि पथरी बिजेता बनेको हो ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा आयोजक टिमले अग्रता लिए पनि अन्तिम समयमा सम्हालिन नसकेको कारण पराजित भएको थियो ।
पहिलो हाफको २७ मिनेटमा आयोजकका सौरभ लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा पथरीका बिशाल पाण्डेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । टाइबेकरमा पथरीका साईमन लिम्बू, निरज परियार (काउली ) , योगेश तामाङ,मञ्जील खड्का,निमन लिम्बुले गोल गरेका थिए भने आयोजक दमकको तर्फबाट सुमन राई,बिशाल दर्जी,सौरभ लिम्बूले मात्र गोल गर्न सफल भएका थिए ।
जित सँगै पथरी स्पोर्टिङ क्लबले नगद रु १ लाख ११ हजार तथा उपविजेता आयोजक वडा नम्बर ३ ले ५५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका हुन्। खेलको बिद्यागत तर्फ पथरीका निरज परियार (काउली) उच्च गोल कर्ता घोषित भए भने लाल बहादुर लिम्बु बेस्ट कोच, बिशाल पाण्डे म्यान अफ द म्याच घोेषित भए ।
त्यस्तै आयोजकका योगेश धिमाल बेस्ट गोल किप्पर , बिक्रम लिम्बु उत्कृष्ठ डिफेन्स ,अजय मण्डल सर्वोत्कृट खेलाडी, प्रितम कार्की उदयमान खेलाडी र पारस कार्की उत्कृष्ठ मिड फिल्डरको रूपमा पुरस्कार प्रदान गरिएको थियो ।
बिजयी टिम तथा खेलाडीलाई वडा नम्बर ३ का वडा अध्यक्ष नबिन बराल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख स्वकिय सचिव समेत रहेका एमाले नेता इन्द्र भण्डारी लगायतले पुरस्कार तथा ट्रफी र मेडल हस्तान्तरण गरेका थिए ।