बैगुनधुरामा अस्थायी प्रहरी चौकी स्थापना

गौरादह,९ पुस । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगुनधुरामा विहिबारदेखि अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय झापाले वडासहित त्यस क्षेत्रका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिन अस्थायी प्रहरी चौकी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
गौरादह नगरपालिका वडा नम्बर ९ साविकको बैगुनधुरा गाविस हो । त्यस वडामा करिव १० हजार जनसंख्या रहेको र स्थानीयले लामो समयदेखि जिउ धनको सुरक्षाका लागि प्रहरी चौंकीको माग गरिआएका थिए ।
उक्त अस्थायी प्रहरी चौंकीमा प्रहरी सहायक निरीक्षक कुमार कटुवालको नेतृत्वमा ६ जना प्रहरी परिचालित छन् । साविकको उपस्वास्थ्य चौकीको भवन मर्मत संभार गरि अस्थायी प्रहरी चौकी सञ्चालनमा ल्याईएको वडाध्यक्ष सिताराम भट्टराईले बताए ।
बैगुनधुरामा प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रका स्थानीयले प्रहरी सेवा लिनकै लागि अन्यत्र जानुपर्ने झण्झट अन्त्य भएको वडाध्यक्ष भट्टराई बताउँछन् । सो भवनमा व्यारेक, कार्यालय प्रमुख कक्ष, आवास र भान्सा कोठा रहेका छन् ।
वडाध्यक्ष भट्टराईका अनुसार वैगुनधुरामा प्रहरी चौंकी स्थापनाका लागि यसअघि नै स्थानीय दाताले ५ कठ्ठा जग्गादान उपलव्ध गराएका छन् ।
जिल्ला भित्र अस्थायी प्रहरी चौकी १३ वटा छन् । यस्ता अस्थायी प्रहरी चौकीमा प्रहरी दरबन्दी हुँदैन । दरबन्दी भएका कार्यालयबाट काजमा प्रहरी खटाउँदै यस्ता चौकी सञ्चालन गर्नु परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.