झापा, ९ पुष । नेपाल पत्रकार महासंघ झापा शाखाको गत मंसिर २८ गते सम्पन्न निर्वाचनबाट नवनिर्वाचित कार्यसमितिसहित प्रदेश परिषद् सदस्य र राष्ट्रिय परिषद सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
निर्वाचनमा समितिले आज विर्तामोडमा एक कार्यक्रम गरि महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीसहितका पदाधिकारीहरु, सदस्यहरु, प्रदेश तथा राष्ट्रिय परिषद सदस्यमा निर्वाचितहरुलाई निर्वाचित प्रमाणपत्र प्रदान गरिएको हो । उनीहरुलाई निर्वाचन समितिका संयोजक शिरो साइन्दाई (शिरोमणि खतिवडा)ले प्रमाणपत्र प्रदान गरेका थिए ।
सोहि अवसरमा महासंघ झापा शाखाको सम्पन्न निर्वाचनमा सचिव पदमा राजु पाठक र प्रदीप परियारको ९९ ९९ मत बराबरी आएपछि गोलाप्रथाबाट पहिलो कार्यकाल पाठक र दोस्रो कार्यकाल परियारले सञ्चालन गर्ने भएका छन् ।
यस्तै, महासंघ झापा शाखाले निर्वाचन समितिलाई कदरपत्र प्रदान गरेको थियो । निर्वाचन समिति संयोजक खतिवडासहित निर्वाचन अधिकृत अधिवक्ता दीपेन्द्र भट्टराई, लक्ष्मी खनाल कोइराला र प्राविधिक प्रमुख विगम श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको हो ।
स्थापना दिवसमा सञ्चारकर्मी डायरी बिमोचन
त्यस्तै महासंघ झापा शाखाको ३६ औं स्थापना दिवसको अवसरमा सञ्चारकर्मी डायरी विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले सञ्चारकर्मी डायरी विमोचन गरेका थिए । बिमोचन गरिएको सो डायरीमा महासंघ झापा शाखामा आवद्ध २२० संचारकर्मीको व्यक्तिगत विवरण उल्लेखछ ।
सो अवसरमा झापा शाखालाई उत्कृष्ट बनाउन प्राविधिक सहयोग पु¥याएको भन्दै सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया, महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, अग्रज पत्रकार गोविन्दचन्द क्षेत्रीसहित नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्विका भण्डारी, कोषाध्यक्ष विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य दीपिन राई, पत्रकार राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदिप परियार, शम्भुजीत दाहाल, लीला अनमोललगायतले शुभकामना मन्तव्य राखेका थिए ।