झापा, ८ पुस । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाद्वारा स्थापित नरेन्द्र बहादुर–कमलादेवी स्मृति साहित्य पुरस्कारद्वारा दमककी साहित्यकार रचना लावती पुरस्कृत भएकी छन् ।जिल्ला चुम्लुङहिममा शुक्रवार सम्पन्न जग्गा–भवनदाता नरेन्द्र बहादुर आङबोहाङको ९६औं जन्म–जयन्ती समारोहमा साहित्यकार लावतीलाई पुरस्कृत गरिएको हो ।
उनलाई किरात याक्थुङ चुम्लुङका संघीय सदस्य अमृत योङहाङले नगद सहित सम्मान–पत्र प्रदान गरे भने दाता नरेन्द्र बहादुर आङबोहाङकी कान्छी बुहारी लक्की थेबे आङबोहाङले लावतीलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
श्रष्टा लावतीले लिम्बू÷याक्थुङ भाषा र नेपाली भाषामा कविता, गजल र उपन्यास विधाका विभिन्न ८ वटा कृति प्रकाशन गरिसकेकी छन् ।सो पुरस्कार २०७८ सालमा साहित्यकार स्व. नरबहादुर योङहाङ (नवल फाइवाली) र २०७९ सालमा साहित्यकार सेसेमी से–नाल्वोलाई प्रदान गरिएको थियो ।
विर्तामोड १ मा निवासी स्व. नरेन्द्र बहादुर आङबोहाङले किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखालाई १ कट्ठा ७ धुर जग्गामा भवन निर्माण गरि हस्तान्तरण गरेका थिए ।जग्गा–भवनदाता आङबोहाङको भौतिक सम्पत्तिसहितको योगदानलाई उच्च मूल्याङकन गर्दै चुम्लुङ झापाले आङबोहाङको स्मृतिमा प्रत्येक वर्ष जन्म–जयन्ती मनाउदै आएको जिल्ला चुम्लुङ अध्यक्ष सेसेहाङ फियाकले बताए ।