दमक ,७ पुस । गरिबी निवारणका लागि परियोजनामार्फत समुदायमा विभिन्न कामहरु गर्देआएको वर्कफर नेपालले आज झापाको कमल गाउँपालिका वडा न. ५ मंगलवारेमा मेघा स्किल एक्स्पो २०२४ सञ्चालन गरेको छ ।
संस्थाले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नेपालको सहकार्यमा एक दिने एक्स्पो आयोजना गरेको हो ।एक्स्पोको कोशी प्रदेश सरकारका खानेपानी,सिचाँई तथा उर्जामन्त्री एकराज कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन पछि मन्त्री कार्कीसहित प्रदेश सांसद होमबहादुर थापा,कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई लगायतकाले एक्स्पोको प्रत्यक्ष अवलोकन गर्नुका साथैं प्रर्दशनीका सामाग्रीका विषयमा अन्तरकृया समेत गरेको संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीले बताए । एक्स्पोमा परियोजनामार्फत सहभागि भई विभिन्न किसिमका सीपमूलक तालिमका प्रशिक्षार्थीहरुले तयार गरेका उत्पादित बस्तुहरुको प्रर्दशनीले वजार अभिबृद्धि गर्न मद्धत पुग्ने उनले बताए ।
उनका अनुसार एक्स्पोमा संस्थाले गरिबी निवारणका लागि समुदायमा स्वच्छ खानेपानीको उपलब्धता, स्वास्थ्य, शिक्षा, सीपबाट तयार पारिएका एक दर्जन बढी घरेलु सामाग्रीहरुको स्टल प्रर्दशनीमा राखिएको थियो । एक्स्पोमा ढाकाकपडा, मोवाईल तालिम, कफी बनाउने , पात प्लेट, कम्प्यूटर, कृषि औजार, डेरी उद्योगका खाद्य बस्तु, हाते झोला सम्मका घरेलु स्टल मुख्य आर्कषण रहेको थियो । एक्स्पोमा कमल गाउँपालिकाको कृषि शाखाले तयार गरेको कमल अर्गानिक मलको प्रर्दशनीलाई विशेष महत्वका साथ सर्वसाधारणहरुले अवलोकन गरेका थिए ।
त्यस्तै,पाडाजुंगीको स्मारिका सामुदायिक बोर्डिङ स्कूलका विद्यार्थीहरुले तयार गरेको घरेलु सामाग्रीहरुको स्टल, महिलाहरुले बनाएका झोला लगायतका स्टलमा भने अवलोकनकर्ताको आर्कषण रहेको थियो ।
संस्थाले आफना गतिविधिका विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको सो एक्स्पोमा विद्यार्थीहरु,सर्वसाधारणहरुको उल्लेखीय सहभागिता रहेको थियो ।