दमक, ६ पुस । दमक -७ स्थित इष्टर्न स्टार बोर्डिङ स्कूलले आज विभिन्न कार्यक्रम गरि २९ औं बार्षिकोत्सव मनाएको छ । बिद्यालय परिसरमा आयोजित बार्षिकोत्सव कार्यक्रममा अन्तर सदनात्मक नृत्य प्रतियोगिता गर्नुका साथै फूडफेस्टिवलको आयोजना गरिएको हो ।
दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा विद्यालयमा अध्ययनरत कक्षा २ सम्मका बालबालिकाहरुले अलग अलग रुपमा कक्षागत नृत्य प्रस्तुत गरेका छन् भने माथिल्लो कक्षाका बिद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा अन्तरसदनात्मक नृत्य प्रतियोगिता सञ्चालन गरिएको सहायक प्रिन्सीपल घनश्याम कोइरालाले बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चबहादुर राईको अध्यक्षतामा भएको बार्षिकोत्सव विशेष समारोहमा बिद्यालयका संस्थापक प्रिन्सीपल लक्षुदास (एलडी) राईले बार्षिकोत्सवको सन्दर्भका विषयमा प्रकाश पारेका थिए । उनले बिद्यालयको गौरवमय इतिहासलाई कायम राख्न सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रिन्सीपल राईले समयानुकल प्रविधि र बाल मैत्री शिक्षण सिकाईको विश्वासिलो गन्तव्यका रुपमा बिद्यालयले पहिचान बनाइसकेको र बिद्यार्थीहरुमा जीवनउपयोगी ज्ञान र संस्कारसहितको शिक्षामा बिद्यालयले जोड दिइआएको उल्लेख गरे । सो अवसरमा बिद्यार्थीहरुले आम्दानीका स्रोतहरुको पहिचान, व्यवसायिक कृयाकलापको ज्ञान, अनुशासन र इमान्दारिता प्रस्तुत गर्ने अवसरका रुपमा खाद्यन्न परिकारहरुको प्रर्दशनी गरिएको थियो ।
ती खानेकुराको परिकारहरु बिक्री गरेर बिद्यार्थीहरुलाई आफनो व्यवहारिक पक्ष सवल बनाउन प्राप्त रकम उपयोग गरि आएको उनले बताए ।कार्यक्रममा विद्यालयले लामोसमयदेखि शिक्षण गरिआएकी सिता मादेन र बद्री चापागाईलाई सम्मान गरेको थियो ।
बर्षेनी सञ्चालन गरिआएको बार्षिकोत्सव अन्तर्गत सो कार्यक्रममा अभिभावक यूनिटका अध्यक्ष युवराज लिम्बू, उपाध्यक्ष दिनेश दर्लामी,ईश्वरा सिटौला, नर्वदा उप्रेती, निर्मला पाठक, बिद्यालयका सञ्चालकहरु, शिक्षक, कर्मचारी, अभिभावक, बिद्यार्थीहरुको उल्लेखीय संख्यामा उपस्थिति रहेको थियो ।