दमक, ६पुस । दुई साताअघिदेखि झापाका विभिन्न पालिकाका बस्तीमा जङ्गली हात्ती देखिन थालेपछि स्थानीयमा त्रास बढेको छ । जङ्गलबाट हात्ती सहरबजार र बाक्लो बस्तीमा नियमित आउन थालेका छन् । हात्तीबाट ज्यान बचाउन हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मुस्किल हुन थालेको छ ।
एक साताको अवधिमा दिनहुँ जसो मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाका बस्तीमा हात्ती आउन थालेका छन् । रतुवामाइ वृक्षरोपण आयोजना र दमकको हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र रहेका हात्ती रातको समयमा बस्तीमा पस्ने गरेका छन् ।
कमलको सावित्रा चौंक ,केर्खा लगायतका वनसंगै जोडिएका बस्तीमा रातीपख हात्ती पस्न थालेपछि स्थानीय रातभर जाग्राम बस्नु परेको कमल ५ का कुमारबाबु गजुरेल बताउँछन् । उनका अनुसार एक,दुईवटा संख्यामा आउने हात्तीले बस्तीमा पसेर अन्नपात खाने तथा घरमा आक्रमण गरि क्षति समेत पुरयाँउदै आएको छ ।शिवसताक्षीसँग जोडिएको कमल गाउँपालिकाको पाडाजुङ्गी र सीतापुरीमा पनि हात्ती बस्तीमा प्रवेश गर्न थालेका छन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले हात्तीबाट गाउँवासीलाई सुरक्षित बनाउन हात्ती प्रभावित बस्तीमा हात्ती धपाउनका लागि साईरन ,टर्च लगायतका औजार उपलव्ध गराउदै आएको बताउँछन् । पालिकाले हात्तीबाट जोगिन स्थानीयलाई सावधानीका उपायका बारेमा समेत सहजीकरण गरिदैआएको उनको भनाई छ । जंगलसंग जोडिएका ३ ,४ र ५ वडाका बस्तीहरु हात्ती प्रभावित मानिन्छन् ।
केही दिनयता शिवसताक्षीको झिलझिले बजारसहितका विभिन्न बाक्ला बस्तीमा हात्ती आउन थालेपछि रातको समयमा हात्ती रुँग्नका लागि गस्ती गर्न सुरु भएको शिवसताक्षी नगरपालिका वडा न. ८ का अध्यक्ष सन्त फेउदेनले बताए । हात्ती बस्तीमा छिर्न थालेपछि हेर्न आउने र धपाउनेको भिड लाग्ने हुँदा थप जोखिम हुने गरेको उनको भनाइ छ ।
उनले भने , “यसभन्दा अघि कहिलेकाहीँ मात्र आउने हात्ती अहिले दिनहुँ जसो आइरहेका छन् । दिनभर रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलमा बस्ने हात्तीको समूह साँझ परेपछि बस्तीमा प्रवेश गर्ने गरेका छन् ।” स्थानीय युवा रातको समयमा हात्तीलाई सुरक्षित ठाउँमा पठाउन निगरानी गर्ने तथा खटिने गरेको उनले बताए।
जङ्गलमा खानेकुराको अभाव हुन थालेपछि खानेकुराको खोजीमा हात्ती बस्तीमा पस्ने गरेको बताइएको छ । दमकमा पनि दिनहुँ हात्ती आउन थालेपछि प्रभावित क्षेत्रका बासिन्दा समस्यामा पर्न थालेका छन् । हात्ती सूचना केन्द्र झापाका अनुसार मेचीनगर नगरपालिकासहित पछिल्लो समयमा झापाका जङ्गल क्षेत्र रहेका पालिकामा हात्तीको आवतजावत बढेको छ ।
हात्ती बस्तीमा पसेपछि मानिसको होहल्लाले गर्दा हात्तीले ठुलो क्षति पु¥याउन सक्ने हात्तीको आवतजावतको अध्ययन गरिररहेका शङ्कर लुइटेल बताउँछन् ।
उनका अनुसार हात्ती आहाराको खोजीमा नै बस्तीमा प्रवेश गरेका हुन् । केही हात्ती उपद्रो गर्ने खालका समेत हुने भएकाले धेरै होसियारी अपाउनुपर्ने उनको भनाइ छ । यो वर्ष हात्तीको चहलपहल धेरै भएको र बस्तीकेन्द्रित हुन थालेको उनले जनाए । हात्तीबाट बच्नका लागि हात्तीलाई बिच्काउन र जिस्क्याउन नहुने उनको सुझाव छ ।