कुटपिटबाट मोरङमा एकजनाको मृत्यु

मोरङ ,६ पुस । अपराधिक पृष्ठभूमिका युवकको आक्रमणबाट मोरङको केराबारीमा एकजनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूको आक्रमणबाट केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले केराबारी–९ स्थित एउटा पसलअगाडि भेट भएका लिम्बू र राईबीच पुस ३ गते आइतबार दिउँसो विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
प्रहरीका अनुसार विवाद बढ्दै गएपछि लिम्बूले राईमाथि आक्रमण गरेका थिए । कुटपिट गर्दै भुइँमा पछार्दा राईको बायाँ कन्चटमा चोट लागेको थियो । गम्भीर अवस्थाका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नहुने जानकारी अस्पतालले दिएपछि परिवारका सदस्यले फर्काएर राईलाई मंगलबार दिउँसो घर लगेका थिए ।
घर पुरयाइएका राईको राति ९ बजेतिर नै मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनापछि फरार रहेका लिम्बूलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले बुधबार बिहानका राति पक्राउ गरेको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका लिम्बूले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न लिम्बू अपराधिक पृष्ठभूमिका व्यक्ति भएको पाइएको छ । प्रहरीले उनीविरुद्ध यसअघि नै जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दा चलाएको थियो । मुद्दामा दोषी ठहर भएपछि सजाय भुक्तान गरेर छुटेका लिम्बूले अहिले व्यक्तिको हत्या गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.