
दमक,६ पुस । नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनबाट झापा,शिवसताक्षीस्थित सतासीधाम जेसीजका पूर्व अध्यक्ष कुमारसिंह साँवा लिम्बू राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।पोखरा जेसीजको आतिथ्यमा हालैसम्पन्न नेपाल जेसीजको महाधिवेशनबाट लिम्बू राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बू सतासीधाम जेसीजको वर्ष २०२० का अध्यक्ष हुन् ।
महाधिबेशनले राष्ट्रिय अध्यक्षमा दाङको त्रिभुवन नगर जेसीजका पूर्व अध्यक्ष लालमणि भण्डारीलाई निर्वाचित गरेको छ ।
राष्ट्रिय उपाध्यक्षमा निर्वाचित लिम्बू म्यान अफ द इलेक्सनका रुपमा अत्यधिक मतका साथ निर्वाचित भए ।
महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा निर्वाचित भण्डारीसँगै चारजना कार्यकारिणी उपाध्यक्षमा क्रमशः दिपेन्द्र निरौला, सुनिल तिमिल्सिना, रमा कुमारी प्याकुरेल र अनिल बहादुर शाही चुनिए। त्यसैगरी १२ जना राष्ट्रिय उपाध्यक्षमा क्रमशः लिम्बूसहित जीवन कार्की, मनोज कुमार शाह, नेत्रलाल भट्टराई , रश्मि बस्नेत, नरेशचन्द्र ओझा, राम प्रसाद पाण्डे, योगीराज अधिकारी, सन्दीप अग्रहरी, कृष्ण बहादुर श्रेष्ठ, राजिब प्रसाई, जीवन श्रेष्ठ चुनिएका छन् । जेसीजको विधान अनुसारका मनोनीत पदहरुमा क्रमशः महासचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा कमल पनेरू र कानुनी सल्लाहकारमा गोविन्द देवकोटा चयन भए।
सुरुङ्गा जेसीजले मातृत्व प्रदान गरेको सतासीधाम जेसीजबाट जेसीज अभियानमा सक्रिय उनी लामो समयदेखी विभिन्न शैक्षिक, सामाजिक तथा संचार क्षेत्रमा समेत क्रियाशिल हुँदै आएका युवा व्यक्तित्वका रुपमा परिचित छन् ।
लिम्बू वर्ष २०२१ मा समेत राष्ट्रिय उपाध्यक्षको उम्मेद्वार बनेर सम्मानजनक मत प्राप्त गर्दै उपविजेता बनेका थिए ।
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएसँगै लिम्बूले आँफूमा थप जिम्मेवारीका साथ नयाँ हौसला एवम् उर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।