दमक,४ पुस । दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा एक सय एक बर्षिय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ ।
ताप्लेजुङको थेचम्बुमा विसं १९८० साल असोज ११ गते जन्मिएका पौडेल बेलायत सैनिकमा समेत रहेर स्वदेश फर्किएपछि लगातार १५ बर्ष सम्म ताप्लेजुङको थेचम्बुमा तत्कालिन प्रधानपञ्चका रुपमा रहेर काम गरेका व्यक्तित्व हुन ।
ताप्लेजुङबाट झापाको विर्तामोड हुँदै हाल काठमाडौंमा स्थायी बसोबास गर्दै आएका पौडेल साता अघिदेखि महायज्ञमा दैनिक उपस्थित भएका थिए । उनलाई पौडेल वंश महासंघका केन्द्रिय अध्यक्ष एवं महायज्ञ आयोजक मुल समितिका अध्यक्ष लोकनाथ पौड्यालले सम्मान गरेका हुन् । सो अवसरमा पौड्याल वंशोद्धार केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष प्रल्हादकुमार पौड्याल, उपाध्यक्ष सुरेश पौडेल, महासचिव युवराज पौड्याल, कोषाध्यक्ष शशिराज पौड्याल, पूर्व उपाध्यक्ष मन्धरा पौडेल, केन्द्रिय सदस्य रामकुमारी पौड्याल लगायत उल्लेख्य संख्यामा पौडेल बन्धुहरु सहभागी थिए ।
बाल आश्रमलाई खाद्यन्न सहयोग
दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको श्रीमद मागवत सप्ताह ज्ञान महायज्ञमा प्राप्त खाद्यन्न सहयोग बाल आश्रमलाई प्रदान गरिएको छ ।महायज्ञ समापनपछि पनि त्यहाँ विभिन्न दाताहरुबाट प्राप्त भएको चामल, भुजा, तरकारी लगायतका करिब २ क्विन्टल विभिन्न खाद्यन्न सामग्री दमक ९ स्थित दमक बाल आश्रममा आश्रित बालबालिकाहरुका लागि प्रदान गरिएको हो ।
दमक ७ की महिला वडा सदस्य समेत रहेकी इन्दु पौडेल, आयोजक समितिकी रामकुमारी पौडेल, राजेन्द्र पौडेल, चन्द्र पौडेल, सुमन पौडेल लगायतको समुहले आश्रमकी अध्यक्ष मन्धरा चिमरिया पौडेलको उपस्थितीमा आश्रममै पुगेर सो खाद्यन्न सामग्री हस्तान्तरण गरेका हुन् । दमक ७ स्थित पौडयाल वंशोद्धार केन्द्रिय समितिको आयोजनामा गत मसिंर २७ देखि पुष ४ गते सम्म सो महायज्ञ सञ्चालन गरिएको थियो । पौड्याल वंशोद्धार समितिको निर्माणाधिन भवनको दोश्रो तला निर्माण गर्न सहयोग जुटाउने उद्धेश्यले सञ्चालन भएको महायज्ञको सम्पूर्ण आय व्यय छिटटै औपचारिक रुपमा सार्वजनिक गरिने आयोजक समितिका सहसचिव तथा पौड्याल वंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौड्यालले जानकारी दिए ।