झापामा ५ महिनामा ५६ जनाले ज्यान गुमाए

दमक,५ पुस ।पछिल्ला समय झापामा दुर्घटना बढेको छ । पछिल्लो पाँच महिनामा ५६ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।चालू आर्थिक वर्षको २०७९र ०८० को मंसीर मसान्तसम्ममा भएका तीन सय २८ सवारी दुर्घटनामा ४३ जना पुरुषसहित १० जना महिला, एकजना बालक, दुई बालिकाको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जबेगूले जानकारी दिए । दुर्घटनामा ७० जना पुरुष सख्त घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
पिकनिकको समयमा जथाभावी सवारी सञ्चालन गर्ने, मादकपदार्थ सेवन गरेर सवारी सञ्चालन गर्ने तथा क्षमताभन्दा धेरै यात्रु राखेर सवारी सञ्चालन गर्दा यो समयमा दुर्घटनाको संख्या र घाइतेको संख्या बढेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियानसँगै कारवाही प्रक्रियालाई पनि तीव्रता दिएको प्रहरी निरीक्षक जबेगूले बताए।

सवारी दुर्घटनामा सबैभन्दा धेरै दुईपाङ्ग्रे सवारी रहेको प्रहरीले जनाएको छ । पाँच महिनाको अवधिमा तीन सय १६ वटा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । हिउँदयाम शुरु भएसँगै वनभोज तथा भ्रमणहरु धेरै हुने भएकाले सो समयमा सवारी दुर्घटना बढेको प्रहरीको भनाइ छ ।
पाँच महिनाको अवधिमा असोज महिनामा १६ जनाले ज्यान गुमाएका छन् भने मंसीरमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साउन महिनामा १२ जनाको, भदौ महिनामा पाँच जनाको र कात्तिक महिनामा नौ जनाको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले पिकनिक स्पटलाई लक्षित गरेर त्यस क्षेत्रमा सवारी चेकजाँचलाई कडाइ गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।
यस अवधिमा भएका दुर्घटनामा ४५ वटा जीप–कार, ४४ वटा साना सवारी, २१ वटा बस, ११ वटा ट्रक, ३१ वटा टेम्पो, चार वटा टिपर र एउटा माइक्रो दुघर्टनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि सचेतना सँगै राजमार्गका विभिन्न स्थानमा छड्के चेकलाई तीव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीबाट एक करोड ३४ लाख चार हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने छ हजार दुई सय ५४ वटा मोटरसाइकललाई कारवाही गर्दा ४२ लाख ७८ हजार राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.