
इलाम, ४ पुस । इलामको चर्चीत पर्यटकीय स्थल कन्याममा प्याराग्लाईडिङ उडाउन शुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाईमा परेको कन्यामको सहिद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाईडिङ उडाउन शुरु गरिएको कन्याम भ्यू प्याराग्लाईडिङ कम्पनीले जनाएको छ ।
पोखराबाट दुई जना दक्ष पाईलट ल्याएर कम्पन्नीले दैनिक दुई वटा प्याराग्लाईडिङबाट पर्यटकलाई सेवा दिन थालेको व्यवस्थापक ज्ञान बहादुर प्रधानले जानकारी दिए । उनका अनुसार बा¥है महिना पर्यटकको भीड हुँने कन्याममा कम्पनीले सहिद पार्कबाट उडान भरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेसीमा प्याराग्लाईडिङ ल्याण्ड गराउने ब्यवस्था गरिएको छ ।
उनले कन्यामबाट दुई वटा प्याराग्लाईडिङ दैनिक तीन पटकका दरले छ पटक सेवा दिन थालिएको जनाए । पर्यटकको चाप हेरी प्याराग्लाईडिङको संख्या थप गर्ने उनले बताए । प्याराग्लाईडिङ सञ्चालन गरिएको उडान भर्ने स्थान र ल्याण्ड गर्ने स्थानको थप व्यवस्थापन गर्ने काम भैरहेको उनले जनाएका छन् ।
पोखराबाट आएका दक्ष पाइलट सुनिल थापा र महेन्द्रबहादुर भट्टराईले प्याराग्लाईडिङको उडान भराउँदै आएका छन् । पाइलट थापाले नयाँ ठाउँ भएकाले कन्यामबाट प्याराग्लाईडिङको उडान परीक्षणकै क्रममा रहेको बताए । उनले कन्यामको मौषम दिनमा धेरै पटक बदली भैरहने र हावाको चाँप परिवर्तन भैरहने भएकाले प्याराग्लाईडिङ सञ्चालनका लागि उपयुक्त स्थानको पहिचान गर्न अझ केही दिन लाग्ने जानकारी दिए ।
एक हजार ६७० मिटर उचाई भएको कन्यामबाट उडाएर दुई सय मिटरमाथि सम्म प्याराग्लाईडिङ लैजाने गरिएको छ । व्यवस्थापन पक्षले एक पटक प्याराग्लाईडिङ गर्दा प्रति एक जना पर्यटकबाट पाँच हजार पाँच सय रुपियाँ दिने दररेट निर्धारण गरेको छ ।
व्यवस्थापक प्रधानले भने ‘कन्याम आउने पर्यटकका लागि हामीले नयाँ आयाम थप गरेका हौँ ।’ प्रधानले पर्यटकको सुरक्षालाई ध्यानमा राखी प्याराग्लाईडिङ गर्ने पर्यटकको समेत बिमाको व्यवस्था गरिएको जानकारी दिए ।
उक्त क्षेत्रका प्रदेश सांसद तथा पर्यटन क्षेत्रका जानकार काजीमान कागतेले प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याममा प्याराग्लाईडिङ सञ्चालन गरिएपछि यहाँ आउने पर्यटकलाई थप आर्कषित गरेको बताए । उनले भने ‘अब कन्याम र अन्तु जस्ता पर्यटकीय स्थललाई सरकारले ‘नाईट टुरिजम’ क्षेत्रका रुपमा विकास गर्नुपर्छ ।’ स्थानीय पर्यटन व्यवसायीले कन्यामबाट प्याराग्लाईडिङ सञ्चालन हुँदा यहाँको पर्यटन प्रर्वधनमा थप टेवा पुग्ने बताएका छन् ।